काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन रातदिन विभिन्न खेल भइरहेको बताएका छन्।
रिपोर्टर्स क्लबको २३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूलाई हटाउन लागिपरेको आरोप लगाएका हुन्।
समारोहमा सहभागी जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रचण्डले केपी ओलीलाई किन हटाउनु हुन्न भन्ने गरेको उनले दावी गरे। ‘केपी ओलीलाई किन हटाउनु हुन्न? यसले देश विकास गर्न लागिसक्यो। महन्थजी विकास गरिदिसक्यो। तराईका समाधान गर्न लाग्यो त्यो किन गर्न दिनुहुन्छ? विप्लव र सीके राउतको समस्या समाधान गरिसक्यो। मेलम्चीको पानी खसाइसक्यो, छिटो हटाउनुपर्यो। हद भो नि यो त,’ ओलीले भने।
प्रचण्ड देशप्रति इमान्दार नभएको ओलीको आरोप थियो। ‘केही व्यक्तिको निहित स्वार्थका लागि राजनीति धुमिल्याउने खेल भयो। देश प्रचण्डको स्वार्थका पछाडि सती जानुपर्ने हो?’ ओलीले प्रश्न गरे।
पुनरावलोकन नाटक
नेकपाका केही मान्छेका घिनलाग्दो महत्वाकांक्षा र व्यक्तिगत स्वार्थका कारण देशमा अहिले परिस्थिति निम्तिएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले पार्टी एउटै गरीपाउ भन्नु नाटक भएको बताए।
‘पार्टी एउटै गरिपाउ भनेर अदालत गएछन्। गर न एउटा पार्टी। पार्टी मिलाइदिने काम अदालतको हो? म पनि महन्थजीको पार्टी मिलाइदिउ भनेर अदालतमा जाने? मिल्ने भए आउनुपर्यो नि। डबलीमा गएर उल्टा भाषा बोल्ने,’ उनले भने।
नमागेको न्याय दियो अदालतले भन्ने प्रचण्ड भनाइमा आपत्ति जनाउँदै ओलीले अर्काको नाम खोस्नु न्याय हो भनेर प्रश्न गरे। ‘मिच्ने बानी परेको छ। जे गरे पनि हुने। विनाश गरे पनि हुने। ध्वस्त गरे पनि। मारे काटे पनि हुने। बानी ब्रिगिएको छ। अब त्यो चल्दैन प्रचण्डजी। एउटा समयमा तपाईंका हतियार र लडाकुसँग डराउँथे। म त्यतिखेर पनि बोल्थे। आज ती दिन गए,’ उनले भने। प्रधानमन्त्री ओलीले प्रचण्डलाई उमेर सम्झिन आग्रह गरे। ‘उहिले सम्झेर खेलो फ्याँक्न नखोज्नुस् ढाड सड्केला। समय कहिल्यै फर्केर आउँदैन,’ उनले भने।
११ फागुनमा पुनर्स्थापनाको फैसला आउँदा आफू आवेश, उत्तेजनामा नआएको र अदालतको आफ्नो बुझाइ अर्थात फैसलालाई लोकतन्त्रमा आफूले सहर्ष मानेको उल्लेख गर्दै ओलीले भने, ‘त्यसबेला फुरफुर, दंग परेर अदालतको जयजयकार गरेकाहरु १२ दिन फागुन २३ गते फैसला आउँदा अब अदालत कामै नलाग्ने भयो भने।’
अदालतको दर्ता खारेज गरेर ठीकै गरेको ओलीको भनाइ थियो। ‘मेरो पार्टीको नाम ऋषि कट्टेलसँग मिल्न गएको रहेछ। दर्ता खारेज हुनु ठीकै हो। खारेज भइसकेपछि फेरि त्यहीँ जान्छु भन्छ र? जाँच दिएर फेल भइसकेपछि उहि क्लासमा बस्छ नि। अर्को क्लासमा जाँदैन। दर्ता भयो खारेज भयो। पहिलेकै ठाउँमा आयो। अदालतले १५ दिनको म्याद दियो फेरि दर्ता गर्न। एकता चाहेको भए अब अगाडि बढौं,’ उनले भने।
नेकपा एकता खारेज भइसकेपछि प्रचण्डलाई फेरि एकता गरौं र नाम लिएर जाऔ भनेर टेलिफोन गरेको तर उनले गर्नै नचाहेको ओलीले दाबी गरे। ‘मैले फोन गरे। केन्द्रीय कमिटी बैठकमा छु, पछि गर्छु भने। एकछिनमा त समाचारमा ओलीले फोन गरेका थिए मैले हुँदैन भने भनेर आयो। एकता अदालतले भंग गरिदियो रे! एकता बाँकी थियो र भंग हुनलाई? जहाँ अध्यक्षलाई, दलको नेतालाई निकालियो। एकता बाँकी थियो? बाँकी राख्या थियो? तै पनि मैले फोन गरे। उनले त्यसलाई मजाक बनाए। फोन गरेर आग्रह गरे। उनले हल्का लिए। फोन गर्दा नगन्ने अनि अदालतले भंग गरिदियो भन्ने?’ ओलीले आक्रोश पोखे।
प्रचण्डले सूर्य चिन्हमा दाबी गर्दा आफू छक्क परेको ओलीको भनाइ थियो। ‘नेकपा एमाले बनाइयो। त्यो खोसेर लाने? म त छक्क परे प्रचण्डले सूर्य चिन्ह मेरो हो भन्दा खेरी। केटाकेटीहरुले कहिले काहीँ अर्काको खेलौना कति राम्रो रहेछ, एकछिन ल्याउ खेलौ भन्छ। त्यसपछि मेरै भन्छ। प्रचण्डजीको पनि त्यस्तै बानी छ,’ उनले भने।
उपेन्द्र यादवलाई जवाफ
समारोहमा उपस्थित जसपाका अध्यक्ष उपेन्द्र यादवले संघीयता धरापमा परेको बताएका थिए। यादवको अभिव्यक्तिमा टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले कसरी धरापमा पर्यो भनेर प्रश्न गरे। ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई केही बिरामी देख्दिनँ। खतरा कतैबाट देख्दिनँ। चुनाव भएर खतरामा पर्छ? चुनाव भएर खतरा पर्छ भने अब २० महिनापछि चुनावमा आएर त पर्ने नै भयो। विरोधका लागि बोल्ने भनेर जे पनि बोलिदिने?’ ओलीले भने।
रामकुमारी झाँक्रीलाई कटाक्ष
कार्यक्रममा प्रधानमन्त्री ओलीले रामकुमारी झाँक्रीलाई कटाक्ष गरे। वाक स्वतन्त्रता कायम रहेको, लेख्न बोल्न कही पनि रोक नलगाएको भन्दै ओलीले झाँक्रीले स्वतन्त्रताका नाममा नाटक गरेको टिप्पणी गरे। ‘ज्याकेट खोलेर फुत्त फ्याकेको छ। कसैले नथुनेको मुखमा टेप लगाएर आएर बोल्न पाइन्छ भनेर मनपरी बोलेको छ। मनपरी लेख्न, छाप्न पाइन्छ। वाक स्वतन्त्रता भनेको के हो?’ ओलीले प्रश्न गरे।
माधव नेपाल उचालिए
प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल अरुलाई उचालिएको आरोप लगाए। ‘चैतमा महाधिवेशन गरौं अध्यक्ष हुनुस् भने। मिति पनि तोकिएको थियो। २५ देखि ३० सम्म थियो। माधव नेपाल वा अरु जो अध्यक्ष हुन मन लागेको थिए भए हुन्थ्यो। माधव नेपाललाई तेस्रो अध्यक्ष हुन भने। मानेनन्। माधव नेपाललाई अरुले उचालिदिए। तपाई त ठूलो मान्छे भनेर उचालेपछि तेस्रो अध्यक्ष खान्न भने। पछि त प्रचण्ड पछाडिकै अध्यक्षमा सडकमा गएर भए,’ ओलीले भने।
आफूलाई प्रधानमन्त्रीमा बस्ने रहर नभएको तर केही व्यक्तिको हतारोले देशमा अहिले जटिल परिस्थिति आएको उनको भनाइ छ। ‘केही व्यक्तिलाई हतार बनायो। व्यक्तिगत आकांक्षा बाहेक केही छैन। देशप्रति कुनै मोह छैन। तिनै मान्छेका कारणले देशलाई मार परेको छ,’ उनले भने।
वृद्ध भत्ता बढ्ने
प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता बढाउने बताए। ‘साउन १ बाट सामाजिक सुरक्षा भत्ता बढ्छ। बुढाबुढी र अपाङ्ग पनि हेर्न थाल्यो। यसलाई छिटो हटाउनुपर्यो भनेर अब केहीलाई निद्रा लाग्दैन,’ उनले भने।
प्रधानमन्त्री ओलीले पूर्वपश्चिम रेलमार्गको छिट्टै शिलान्यास गर्ने पनि बताए। ‘क्षतिपूर्ति अतिग्रहण गर्ने काम भइरहेको छ। अब आफ्नै रेल हुन्छ। बर्दिवासको रेल चल्छ। रेल किनिसकिएको छ,’ उनले भने।
