काठमाडौं : विश्व सम्पदा सूचिमा सूचिकृत वसन्तपुर हुनमानढोका दरबारक्षेत्र आसपासमा अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन हटाउन पुरातत्व विभागलाई पटक–पटक ताकेता गर्दा पनि आलटाल गरेको भन्दै काठमाडौं महानगरपालिकाले माइकिङ गर्दै अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन हटाई सहयोग गर्न आग्रह गरेको छ।
‘विभागलाई हामीले पटक–पटक मौखिक र लिखित रुपमा आग्रह गर्यौं। तर, उहाँहरुले ढिलासुस्ती गरेपछि हामीले बाध्य भएर सम्पदा मासेर अनधिकृत व्यापार गरिहेका व्यापार–व्यवासायीहरुलाई ती स्थान खाली गर्न आग्रहसहित माइकिङ गरेका हौं,’ ‘महानगरपालिकाका प्रहरी प्रमुख धनपति सापकटाले भने, ‘वारुणयन्त्र कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिर निकटको भवनमा व्यापारिक प्रयोजनमा होटल, रेष्टुराँ र सटरहरु सञ्चालित छन्। हामीले उहाँहरुले आफै हटाउन मान्नु भएन भने हामी हाम्रो ढंगबाट अघि बढ्छौं।’
सम्पदा बचाउने सबैभन्दा जिम्मेवार निकाय पुरातत्व रहेको र विश्व सम्पदा सूचिमा सूचिकृत स्थानमै पुरातत्वले सम्पदा मासेर आम्दानी गर्न थाल्दा अन्त पनि काम गर्न कठिन हुने भन्दै मेयरको निर्देशन अनुसार प्रक्रिया अघि बढाएको सापकाटोको भनाइ छ। ‘हामीले त्यहाँ माइकिङ गर्दै खाली गर्न आग्रह गरेका छौं। स्थानीयको समेत माग सम्बोधन गर्दै महानगरपालिकाले पुरातत्वलाई दोस्रो ताकेतापत्र समेत पठाइसकेको र त्यो ताकेतालाई पनि बेवास्ता गरेपछि हामी अघि बढेका हौं,’ उनले भने।
महानगरले यहिँ माघ १४ गते अनधिकृत प्रयोजन हटाइदिन आग्रह गर्दै पुरातत्वलाई पत्र पठाएको थियो। त्यसपछि अनधिकृत व्यापार–व्यवसाय हटाई त्यहाँको ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वलाई कामय राख्न ताकेता गर्दै पुनः चैत ५ गते प्रथम ताकेता पत्र पठाई पुरातत्वलाई स्मरण गराएको थियो।
पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले महानगरको प्रयासलाई सकारात्मक रुपमा लिएको भन्दै सो क्षेत्र पुरातत्वको क्षेत्राधिकारभित्र पर्ने हुँदा समस्या समाधानका लागि प्रयास जारी राखेको बताए। ‘महानगरपालिकाले पत्र पठाएपछि हामीले प्रधानमन्त्री कार्यालय र पर्यटन मन्त्रालयलाई जानकारी गराइसकेका छौं,’ गौतमले भने, ‘त्यो क्षेत्र हनुमान ढोका दरबार संग्राहलय विकास समितिले हेरिरहेको र पर्यटन सचिव त्यसको प्रमुख हुने भएकाले हामीले उहाँहरुसँग समेत समन्वय गरेर आज–भोलि नै बैठक बसी तत्काल समाधानको प्रयास गर्ने तयारी गरेका छौं।’
गौतमले थपे, ‘त्यहाँ भएका पसल–कवलमा स्थानीय उत्पादनको प्रवर्द्धन गरी आर्थिकस्तर उकास्नुपर्छ र पुरातात्विक र विश्व सम्पदा सूचिमा रहेका स्थानको संरक्षण गर्नुपर्छ भन्नेमा हाम्रो विमति छैन,’ उनले भने, ‘पहिला त्यहाँ केही कमजोरी भएको रहेछ भने पनि सुधार गरेर जानुपर्छ भन्नेमा हामी सकारात्मक छौं।’
