काठमाडौं : कतारकी राजकुमारी आस्मा अल थानी सगरमाथा आरोहणको लागि नेपाल आउने भएकी छिन्। सगरमाथा आरोहणको लागि राजकुमारी थानी अप्रिल १ मा नेपाल आउने बताइएको छ।
३१ वर्षीया राजकुमारी थानी ‘एक्स्प्लोरर्स ग्रान्ड स्लाम’ पूरा गर्ने पहिलो कतारी महिला बन्ने यात्रामा छिन्। ग्रान्ड स्लाम अन्तर्गत संसारका सात उच्च शिखरको आरोहण तथा उत्तर र दक्षिण ध्रुवमा पुग्ने उनको लक्ष्य छ।
उनले २०१८ मा दक्षिणी ध्रुवमा स्कीइङ गरेकी थिइन्। दक्षिणी ध्रुवमा स्कीइङ गर्ने उनी पहिलो कतारी नागरिक हुन्। त्यस्तै, उनी माउन्ट एकोन्कागुवाको आरोहण गर्ने पहिलो कतारी महिला हुन्। उनले २०१९ मा माउन्ट एकोन्कागुवाको आरोहण गरेकी थिइन्।
त्यसको साथै २०१४ मा किलिमन्जारो पर्वतको आरोहण गर्ने कतारी महिलाहरुको समूहमा पनि उनी सहभागी थिइन्। यो वर्षको अप्रिलदेखि मेसम्ममा उनले सगरमाथाको आरोहणको प्रयास गर्ने छिन्। त्यसमा सफल भएमा उनी सगरमाथाको आरोहण गर्ने पहिलो कतारी महिला हुनेछिन्।
राजकुमारी आस्माले मध्यपूर्वी देशमा महिला सशक्तिकरणको पक्षमा वकालत गर्ने गरेकी छिन्। उनको कतार, सो क्षेत्र र अन्तर्राष्ट्रिय रुपमा पनि खेलकुद क्षेत्रमा महत्वपूर्ण प्रभाव रहेको छ। कतार ओलम्पिक कमिटीमा वरिष्ठ महिला अधिकारीको रुपमा रहेकी उनको कतारका मुख्य खेलकुद परियोजनाहरुमा महत्वपूर्ण योगदान रहेको छ।
