PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

विद्यालय बिदा दिने शिक्षा मन्त्रालयको निर्णय कतै कडाइका साथ लागू, कतै पालना गर्न अस्वीकार



फूलमाया पुरी

विद्यालय बिदा दिने शिक्षा मन्त्रालयको निर्णय कतै कडाइका साथ लागू, कतै पालना गर्न अस्वीकार

विराटनगर : झापाको दमक नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द भएको छ। वातावरण प्रदूषण उच्च भएका कारण सोमवार शिक्षा मन्त्रालयले गरेको विद्यालय बन्द गर्ने निर्णय लागू गर्न नगरपालिकाले सम्बन्धित सबैलाई परिपत्र गरेको छ।

मन्त्रालयको निर्णय अनुसार चार दिनका लागि पालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न परिपत्र गरिएको नगरपालिकाका शिक्षा शाखाका उप(सचिव दिनेश कुमार न्यौपानेले बताए। त्यसो त केही निजी विद्यालय खोलेको भन्ने जानकारी पाएपछि नगरपालिकाले आजै बन्द गर्न निर्देशन दिएको उनले बताए।

‘केही निजी विद्यालयलाई थाहा भएन या जबरजस्ती बलमिच्याइ गर्न खोजेका होलान्। तर, हामीले बन्द गर्न भनिसकेका छौं,’ पहिलोपोस्टसँगको कुराकानीमा उनले भने।

प्रदूषण बढेको विषयमा भने यस वर्ष अघिल्लो वर्षभन्दा मौषम फरक पाइएको उनको बुझाइ  छ।

‘केही दिनदेखि चिसो हावा चलिरहेको छ, पानी परेको छैन, धुम्मिएको छ’, न्यौपानेले भने, ‘पहिले जस्तो गर्मी हुने र आकाश खुलेको पनि त छैन यसपाली।’

यता झापाकै मेचीनगर नगरपालिकामा भने विद्यालयको व्यवस्थापन र कार्यक्रम अनुकूलता अनुसार विद्यालय बन्द वा सञ्चालनमा रहेने बताउँछन् शिक्षा शाखा प्रमुख होम भण्डारी।

भण्डारीका अनुसार प्रदूषणका विषयमा भने दमक नगरपालिकामा १६६ नम्बरमा प्रदूषणको रेट देखिएको हुँदा मेची नगरपालिका पनि यसको जोखिममा छ। ‘तर, कति छ?’ भन्ने यकीन जानकारी नभएको उनको भनाइ छ।

नगरपालिकाका नगर प्रमुखका अनुसार मन्त्रालयको निर्णयले सोझै विद्यालयलाई निर्देश गरेको छ। सोही अनुसार कार्यान्वयन हुन्छ। यसमा स्थानीय सरकारको कुनै भूमिका उल्लेख नगरेको उनले बताए।

त्यसैले विद्यालयले सरकारले गरेको निर्णय आवश्यकता अनुसार गर्ने वा नगर्ने स्वतः निर्धारण गर्न सक्ने भन्दै उनले अहिलेकै अवस्थामा वातावरण प्रदूषणकै कारण झापामा विद्यालय बन्द गर्नु पर्ने आवश्कता नभएको उनको भनाइ छ।

‘काठमाडौंलाई लक्षित गरी त्यसैलाई केन्द्रमा राखेर गरेको विज्ञको सुझाव अनुसार गरिएको निर्णय होला’, उनले भने, ‘तर यता विद्यालय बन्द गर्नु पर्ने अवस्था थिएन।’

सरकारले गरेको निर्णय कति सहि या गलत भनि प्रतिक्रिया नदिने उनले बताए। किनकी यसमा स्थानीय सरकारले छलफल गर्ने कुनै पाटो नै नराखी सोझै विद्यालयलाई सूचना सार्वजनिक गरेको उनको तर्क छ।

संघीय सरकारले गरेको निर्णयलाई कतै लागू त कतै अस्वीकार गरेको बताउँछन् प्रदेश १ सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखा प्रमुख कृष्ण प्रसाद पोखरेल।

उनका अनुसार केन्द्रले गरेको चार दिन विद्यालय बन्द गर्ने स्थानीय सरकारले आवश्यकता हेरेर लागू गर्ने वा नगर्ने भनी निष्कर्ष निकालेको हो। काठमाडौं उपत्यका लगायत बढी बसोबास भएका शहरी क्षेत्रमा प्रदूषण बढेकोले उक्त निर्णय भएको उनको बुझाइ छ।

‘त्यसैले प्रदूषणको मात्र कम भएका स्थानीय तहले आफ्नो क्षेत्रका विद्यालय सञ्चालनमा ल्याएको पाइएको छ,’ उनले भने।

यस विषय कार्यान्वयनप्रति प्रदेश सरकारको कुनै भूमिका उल्लेख नभएको उनको भनाइ छ। विराटनगर महानगरपालिकामा नगरपालिकाले सरकारले गरेको निर्णयलाई अस्वीकार गर्दै विद्यालय सञ्चालन गर्न सूचना जारी गरेको छ।

महानगरपालिका नगरप्रमुख भीम पराजुलीको निर्देशनमा उक्त सूचना जारी गरिएको महानगरका शिक्षा महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाको भनाइ छ। उनका अनुसार विराटनगरमा वातावरण प्रदूषण उच्च नरहेको र विद्यालय शैक्षिक सत्र पूरा गर्न बाधा पर्ने भएकाले विद्यालय सञ्चालन गर्न भनी नगर प्रमुखले सूचना जारी गर्न लगाएका हुन्।

वातावरण प्रदूषणका विषयमा केन्द्रबाट स्थानीय जनप्रतिनिधिलाई जानकारी गराउनुपर्ने उनको भनाइ छ।

‘यदि प्रकोपको अवस्था भएको हो जनप्रतिनिधि लगायत हामीलाई पनि विज्ञहरुले स्थानीय अवस्थाबारे जानकारी गराउनुपर्छ,’ उनले भने।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आकस्मिक जारी गरेको प्रेस विज्ञप्ति अनुसार विद्यालय बन्द नहुने निर्णय इलाम नगरपालिकाले पनि गरेको छ।

काठमाडौंमा जस्तौ उच्च प्रदूषण नभएको ठहर गर्दै शैक्षिक गतिविधि अगाडि बढाउन उक्त निर्णय गरिएको नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेलले बताए।

‘हाम्रो नगरपालिकामा प्रदूषणको रेट के कति छ? त्यो त थाहा छैन’, उनले भने, ‘तर अहिलेको मौसम हेर्दा त्यति उच्च जोखिम भने पाइएन त्यसैले विद्यालय बन्द नगर्ने निर्णय भएको हो।’

भोलिका दिनमा वातावरण प्रदूषण उच्च बढे सोही अनुसार निर्णय गरिने पनि उनले बताए।

शिक्षा मन्त्रालय कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो।

मन्त्रालयले गरेको उक्त निर्णय प्रदेश १ को विराटनगर महानगरपालिका र इलाम नगरपालिकाले अस्विकार गरेका छन्। दुवै पालिकाले आजै सूचना जारी गर्दै विद्यालय बन्द गर्ने निर्णय अस्वीकार गरेका छन्।

केहि दिनदेखि बढेको वायु प्रदूषणलाई मध्यनगर गर्दै शिक्षा मन्त्रालयले बिदा दिने निर्णय गरेको छ। परीक्षा परेको बाहेक अन्य सबै शैक्षिकसत्र बन्द गर्ने सरकारले निर्णय गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell