PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

माधव नेपालका अड्चन : एमालेमा न सक्छन् जुट्न न फुट्न नै, प्रचण्डसँग फेरि जोडिने कसरी?



प्रकाश भण्डारी

माधव नेपालका अड्चन :  एमालेमा न सक्छन् जुट्न न फुट्न नै, प्रचण्डसँग फेरि जोडिने कसरी?
फाइल फोटो

काठमाडौं :  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई त्यतिखेर प्रहार गरे जतिबेला नेपाल समूह विकिल्प विहीन छ। ओलीसँग मिल्न पनि नसक्ने र छुट्न पनि नसक्ने अवस्थामा रहेका नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनाल समूहलाई ओलीको कारवाहीले थप संकटपूर्ण अवस्थामा पुर्‍याएको छ।

चैत १६ गतेको कारवाहीपछि नेपालले वाम एकता गर्ने घोषणा गरेको भए पनि त्यो त्यति सहज भने दखिन्न। नेपाल समूहका नेताले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अरु बाम नेताहरुसँग लगातार छलफल गरिरहका छन्। तर, त्यो निर्णायक अवस्थामा भने पुगिनसकेको नेताहरुको दाबी छ।

एमाले र माओवादी केन्द्रलाई अदालतले ब्युँताएसँगै नेपाल समूह एमालेमा फर्किए पनि ओलीले पुनर्मिलनको ढोकाको चुकुल खोलेनन्। बरु ओलीले आफू निकट नेतालाई बोलाएर फागुन २८ गते नेपाल-खनाल समूहलाई पेल्ने सन्देश दिएपछि नेपाल समूह थप झस्किएको थियो। त्यसयता लगातार आन्तरिक छलफलमा जुटेको नेपाल समूह ओलीविरुद्ध सशक्त उत्रन खोजे पनि अलमलमा पर्‍यो। चैत ४ र ५ गते कार्यकर्ता भेला गरेर ओलीलाई चिढ्याए पनि खनाल-नेपालले ओलीविरुद्ध कदम भने चालेनन्। बरु ८ गते ओलीले नै नेपालसहित उक्त समूहका ४ जनालाई स्पष्टिकरण सोधेर झस्काइदिए।

एमालेबाट जाने कहाँ?

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा ओली र प्रचण्ड-नेपाल समूहले समानान्तर गतिविधि गरे। नेकपा नाम र सूर्य चिन्हकै विवाद कचल्टिरहेका बेला अदालतले एमाले माओवादीलाई आ-आफ्नो बाटो लाग्न भनेपछि भने नेकपाभित्र संकटको अवस्थामा रहेका ओलीले राहत महसुस गरेका थिए।

नेकपामा प्रचण्ड-नेपालले ओलीमाथि गरेको प्रहारको ओलीले बदला लिन थालेपछि भने हाल एमाले त्यतिबेलाको नेकपाकै अवस्थामा पुगेको छ। नेपाल-खनाल समूहले समानान्तर कमिटी गठन गरेर गतिविधि गरिरहेका छन् भने नेपाल समूह पार्टीबाट छुट्टिए पनि खासै असर नपर्ने निर्क्यौलका साथ ओली एकपछि अर्को कदम चालिरहेका छन्।

ओलीको प्रहारपछि पनि नेपाल समूह भने तत्काल उनीविरुद्ध कदम चाल्ने मुडमा भने देखिएको छैन। मंगलवारको स्थायी कमिटी बैठकले एमालेमै रहेर ओलीविरुद्ध संघर्ष गर्ने र पार्टी पुनर्गठित गर्ने निर्णय गरेको छ। नेपाल समूहका नेता युवराज ज्ञवालीले एमालेलाई सुदृढ गर्ने बताए।

'नेकपा एमालेलाई पुनर्गठित गर्ने अभियानमा लागिसकेका छौं। जिल्ला जिल्लामा समानान्तर कमिटी बनिसकेका छन्। एमालेलाई नै पुनर्गठित र सुदृढ रुपमा अगाडी बढाउछौं,' ज्ञवालीले भने।

नेपाल समूहले नेकपा एमाले अब फुटी नै सकेको भए पनि तत्कालका लागि अर्को दल दर्ता गर्ने समय भने आइनसकेको जनाएको छ। तर, ओलीका क्रियाकलापले भने पार्टी एक हुने अवस्था नरहेको नेपाल समूहको बुझाइ छ।

'औपचारिक रुपमा एमाले फुटिसकेको छैन। पार्टीको आन्तरिक र संगठनिक रुपमा फरक फरक क्रियाकलाप भइरहेका छन्। अहिले पनि एमालेको एउटै संसदीय दल छ। अहिले नै फुटको अवस्थामा पुगेको छैन। तर भविष्यमा के हुन्छ, त्यो केपी ओलीको क्रियाकलापमा भर पर्छ,' ज्ञवालीले भने, 'उहाँको क्रियाकलाबाट एमाले विभाजनबाट एमाले विभाजन गर्छु भन्नुभएको छ। आगामी दिनमा एमाले एकताबद्ध भएर जान्छ या अलग हुन्छ। ओलीकै क्रियाकलापमा भर पर्छ।' नेपाल समूहले आफूलाई तत्काल एमालेबाहेक अन्त जाने ठाउँ नभएको जनाएको छ। बाम एकताका लागि एमालेकै पहलमा मात्रै सम्भव हुने नेपाल समूहका नेता बताउँछन्। ओली समूहमै लागेका नेताहरु समेत ओलीसँग रुष्ट भएकाले उनीहरुको समेत आफ्नो समूहलाई समर्थन हुने भएकाले तत्काल अर्को पार्टी बनाउन नहुने नेपाल समूहका नेताहरुको मत छ। 'केपी ओलीभित्र तमाम सकारात्मक ढंगले सोच्ने नेता कार्यकर्ता छन्। एमालेमा नबसेर संघर्ष गर्न सकिने अवस्था छैन्,' ज्ञवालीले भने।

'वाम एकता ओलीले रोक्न सक्दैनन्'

एमालेमा ओलीको 'मुभ्' पर्खेर बसेका नेपाल समूह हाल भने ओली इतरका शक्तिसँग मिल्न सकिने भन्दै दौडधुपमा लागेको छ। त्यसका लागि कम्युनिस्ट पार्टीका नेताहरुसँगको संवादलाई तिव्रता दिएको छ। प्रचण्ड-नेपालको संवाद र भेटघाट बाक्लिएको छ भने उनीहरुले सल्लाहअनुसार नै अदालतको फागुन २३ गतेको फैसला पुनरावलोकनाका लागि तयारी गरेका थिए। प्रचण्डले मंगलवार पेरिसडाँडामा आयोजित कार्यक्रममा आफू नेपाल-खनालको समर्थनमा अदालत पुगेको बताएका थिए।

'जो हामी दुई तिहाइ लिएर संसदमा गएका थियौ माधव झलनाथ खनालहरु। हामी सबैको पुरावलोकन हुनुपर्छ भन्ने छ। यो कुरालाई अदाअतले हेर्ने छ। यो मुद्दालाई देश दुनियाँले बुझ्ने छ,' प्रचण्डले भने।

नेपाल समूहका नेता ज्ञवालीले कम्युनिस्ट एकता गर्न चाहेको बताए। उनले आफ्नो समूहमा कुनै अलमल नभएको बताए। ओलीको आगामी कदमले समेत आफ्ना समूहका गतिविधि निर्धारण गर्ने उनले बताए।

'हामी एउटा राजनीतिक व्यक्ति हौ। वामपन्थी नेतासँग भेटघाट चलिरहन्छ। कसैले रोक्न सक्दैन। तमाम नेतासँग भेटघाट चलिरहेको छ। प्रचण्डसँग मात्रै होइन,' उनले भने। ज्ञवालीले अब तत्काल राष्ट्रिय राजनीतिमा फेरबदल आउने र त्यही आधारमा आफ्नो समूहमा पनि फेरबदल आउने दाबी गरे। 'नेपालको राष्ट्रिय राजनीतिमा फेरबदल आइरहन्छ। र त्यही अनुसार हामीमा पनि फेरबदल आइरहन्छ,' उनले भने।

माओवादी निर्णायक

नेपाल समूहका नेताहरुका अनुसार माओवादीसँग तत्काल नयाँ पार्टी बनाउनेबारे छलफल गर्न माओवादीले सरकारलाई दिएको समर्थनले अप्ठेरो भइरहेको बताएका छन्। माओवादीले समर्थन फिर्ता लिए ओलीले संसदमा विश्वासको मत लिने र विश्वासको मत पाएको अवस्थामा ओली सरकार बाँकी कार्यकालसम्म निरन्तर चल्ने भएकाले तत्काल फिर्ता लिनु ओलीको हितमा हुने प्रचण्ड-नेपालको बुझाइ छ।

समर्थन फिर्ता लिन राष्ट्रिय राजनीतिमा बलियो समिकरण चाहेको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश साहले बताए। 'तत्काल नै फिर्ता लिने भनेर कुरा भएको थियो। तर गठबन्धनले अड्काइ दियो,' उनले भने। प्रचण्डले शनिवार नागरिक समाजले गरेको अन्तरक्रियामा सरकारलाई दिएको समर्थन अब धेरै दिन नटिक्ने बताएका थिए। नेपाल समूहले नै ओलीलाई सत्ताबाट हटाउन तत्काल समर्थन फिर्ता नलिन दाबाव दिइरहेको प्रचण्डको भनाई थियो।

राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनालले भने माओवादीले समर्थन फिर्ता लिनासाथ प्रचण्ड-नेपालको एकता सम्भव हुने बताएका छन्। जसपा र नेपाली कांग्रेससमेत दबावमा आउने भएकाले ओलीलाई संसदीय राजनीतिमा कर्नरमा पार्न माओवादीले तत्काल समर्थन फिर्ता लिन प्रचण्ड-नेपालका लागि लाभदायक हुने सुझाव दिएका थिए। 'मलाई लाग्छ माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिनासाथ जसपा र नेपाली कांग्रेस पनि दबावमा आउने छ। ओलीलाई कर्नरमा पार्ने विकल्प पनि अब त्यही हो,' शनिवारको अन्तक्रियामा खनालले भनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell