काठमाडौंः महोत्तरी भंगहा नगरपालिकाका सात जना बालिका / किशोरीहरु सम्पर्क बिहिन भएका छन्।
मंगलबार दिउँसो करिब २ बजेतिर घरबाट निस्किएका उनीहरु अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन्। रातिसम्म घर नफर्किएपछि उनीहरुका आफन्तले प्रहरीमा समेत खवर गरेका थिए। अहिले प्रहरीले उनीहरुको खोजी गरिरहेको छ।
'घाँस काट्न भनेर दिउँसो निस्किएको परिवारले जानकारी दिएको छ। हाम्रो टोली अहिले विभिन्न कोणबाट खोजी तथा अनुसन्धान गरिरहेको छ,' जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेशराज आचार्याले भने।
भंगहा नगरपालिका वडा नम्वर ८ धर्मपुरमा बस्दै आएका हराएका बालबालिका/किशोरीहरु नागेदार भित्रकै हुन्। पासवान परिवारका बालिका तथा किशोरीहरु बेपत्ता भएका हुन्।
महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ७ जना बालिका र किशोरीहरु वेपत्ता भएका छन्।
' उनीहरुको आफन्त र अन्य स्थानमा समेत बुझ्ने तथा खोजी गर्ने काम भइरहेको छ,' भंगहा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष राम नारायण खत्वेले भने।
सितामढी भन्ने ठाउँमा बालबालिका भेटिएको सुचना आएकाले प्रहरी त्यसतर्फ गइरहेको छ। तर प्रहरीलाई आएको जानकारी अनुसार हराएका तिनै बालबालिका/किशोरी हुन् वा होइन् भन्ने पुष्टी भइसकेको छैन।
