PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

'महोत्तरीबाट हराएका बालिका भारतको सीतामढीमा भेटिए!'



पहिलोपोस्ट

'महोत्तरीबाट हराएका बालिका भारतको सीतामढीमा भेटिए!'

काठमाडौं : महोत्तरी भंगहा नगरपालिकाका सात जना बालिका/किशोरीहरु सम्पर्कमा आएका छन्।

आज बिहान उनीहरु भारतको सितामढीमा फेला परिएको जानकारी आएको हो। 'हामीलाई पनि भेटिएको जानकारी आएको छ। हाम्रो टोली त्यसतर्फ लागिरहेको छ,' जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्याले भने।

उनीहरु मंगलवार दिउँसो करिब २ बजेतिर घरबाट निस्किएका थिए। रातिसम्म घर नफर्किएपछि उनीहरुका आफन्तले प्रहरीमा समेत खबर गरेका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरीले समेत उनीहरुको खोजी गरिरहेको थियो।

'घाँस काट्न भनेर दिउँसो निस्किएको परिवारले जानकारी दिएको छ। हाम्रो टोली अहिले विभिन्न कोणबाट खोजी तथा अनुसन्धान गरिरहेको छ,' जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी आचार्याले भने।

भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरमा बस्दै आएका हराएका बालबालिका/किशोरीहरु नागेदार भित्रकै हुन्। पासवान परिवारका बालिका तथा किशोरीहरु बेपत्ता भएका हुन्।

'सीतामढीमा भेटिएको जानकारी आएको छ। किन त्यहाँ पुगे भन्ने केही खुलेको छैन,' भंगहा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष राम नारायण खत्वेले भने।

महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ७ जना बालिका र किशोरीहरु बेपत्ता भएका थिए। उनीहरु फेला परेको ठाउँ गाउँबाट झन्डै ४० किलोमिटरको दुरीमा पर्छ।

'सात जना बालिका भेटिएको भनेर खबर आएको छ। सात जना नै भएको कारणले गर्दा उनीहरु नै हुन् भन्ने हाम्रो आशा हो,' जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख तीर्थराज भट्टराईले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell