PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

अपारदर्शी र योजनाबिनाका संघलाई खारेज गरिनेछ : सदस्य सचिव सिलवाल



पहिलोपोस्ट

अपारदर्शी र योजनाबिनाका संघलाई खारेज गरिनेछ : सदस्य सचिव सिलवाल
फाइल फोटो

काठमाडौं : राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले अपारदर्शी र योजनाबिनाका संघलाई खारेज गरिने बताएका छन्। नेपाल खेलकुद पत्रकार मञ्चको एकेडेमी लञ्च कार्यक्रममा सदस्यसचिव सिलवालले अपारदर्शी र योजनाबिनाका संघहरुलाई खारेज गर्ने बताएका हुन्।

'यस्ता संघहरुलाई म खारेज गर्दिन्छु। यो नक्कली कामको अहिले आवश्यकता छैन। संघमा पारदर्शिता हुनुपर्छ,' सिलवालले भने, 'हरेक कार्यक्रमपछि संघले हिसाबकिताव सार्वजनिक गर्नुपर्छ। हाम्रो संघहरुमा पारदर्शिता छैन। आम्दानी कति र खर्च कति त्यो संघले पारदर्शी गर्नपर्छ। संघले सिस्टममा आउनुपर्छ।' उनले संघ यदि सिस्टममा नहिँड्ने हो भने त्यसको औचित्य नरहने दाबी गरे।

सिलवालले प्रश्न गरे: २०/२५ वर्ष संघ चलाउँदा पनि संघ गोजीमा छ भने म त्यो संघको अध्यक्ष भनेर गौरव गर्नुको के अर्थ छ? धेरै ठाउँमा धेरै ठूला पदमा पुग्दा पनि खेल्ने मैदान कहाँ छ? भन्दा थाहा छैन भने मैले लिडरसिप गरिरहेको छु भन्नुको के अर्थ छ?

सिलवालले संघको नेतृत्व गर्ने हो भने सबैभन्दा पहिला पारदर्शी हुन आवश्यक रहेको जिकीरसमेत गरे।

'जो जो संघले राम्रो कार्यक्रम ल्याउनुहुन्छ, वहाँहरुलाई रिवार्ड गर्ने हो। वहाँ हरुलाई स्यालुट गर्छु र तपाइहरुलाई थप बजेट कहाँबाट खोज्ने व्यवस्था गर्छु,' उनले भने, 'जो संघले कार्यक्रम ल्याउँदैन, खेलाडी उत्पादन पनि गर्दैन, प्रशिक्षक उत्पादन पनि गर्दैन, अफिसियल उत्पादन पनि गर्दैन, बाहिर जानका लागि लाइसेन्स वा सिभी बनाउनका लागि हो भने त्यस्तो संघ जीवित हुनुभन्दा मर्नु नै ठीक हुन्छ। त्यसको सट्टा अर्को मान्छे आउँछ। अर्कोले लिडरसिप गर्छु।'

संघ अब पनि पुरानो ढाँचा र ढर्राले चलाउन खोजे नेपालको खेलकुद विकासमा यो दुर्भाग्य हुने बताए। उनले अडिटमा संघले गरेको लापरवाहीको उदाहरण दिँदै चाँडो योजना बनाउनमा केन्द्रित हुन सुझाए।

'हिजोमात्र हेरेँ पुष मसान्तभित्र अडिट गरेर बुझाउनुपर्ने खेलकुदको नियम छ। आज चैत हुँदा कतिवटा संघले अडिट बुझाएको छ भन्दा म जिल्ल परेँ,' उनले प्रश्न गरे, 'त्यो जिम्मेवारी संघले निर्वाह गर्नुपर्ने हो कि होइन?'

एउटा अडिट रिपोर्ट बुझाउन नसक्ने र योजनाहरु पनि ल्याउन नसक्ने हो भने संघको फलानो पदाधिकारी हुँ भनेर गर्व गर्नुको तुक नभएको भन्दै सिलवालले संघका पदाधिकारीमाथि कटाक्ष गरे।

'मेरो आग्रह छ, चाँडै प्लान अफ एक्सन बनाउनु होस्। यो वर्ष के गर्ने लेख्नुस्। अडिट रिपोर्ट ल्याउनुहोस्। पारदर्शी गर्नुहोस्,' उनले भने, 'होइन भने खेलकुद फेरि लठाबद्र हुन्छ। खेलकुदलाई सही दिशामा लैजाने हो भने यो तीतो कुरालाई लिएर सही बाटोमा लैजानु पर्छ। राम्रा असल मानिस आउनुपर्छ।'

नेपाली खेलकुदको सर्वाच्च निकाय भएर पनि खेलकुदको डेटाबेस बनाउनमा राखेप चुकेको स्वीकार गर्दै सिलवालले एनएसजेएफलाई यसका लागि सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत ब्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell