PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

नेपाली कोदोको रक्सीलाई ब्राण्डिङ गर्न मन्त्री राईले ल्याइन् यस्ता योजना



फूलमाया पुरी

नेपाली कोदोको रक्सीलाई ब्राण्डिङ गर्न मन्त्री राईले ल्याइन् यस्ता योजना

विराटनगर : नेपाली कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने योजना रहेको प्रदेश १ सामाजिक विकास मन्त्री उषाकला राईले बताएकी छिन्। गत चैत १३ गते मन्त्रालयको पदभार ग्रहण गरेकी मन्त्री राईले बुधवार पत्रकार सम्मेलन गरी उक्त योजना सुनाएकी हुन्।

उनले आफ्ना प्राथमिकताका कार्यक्रमहरुका बारेमा प्रष्ट्याउने क्रममा प्राथमिकताका क्षेत्रहरुमध्ये एक नेपाली कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने बताएकी हुन्। जसका लागि कानुनी र व्यवहारिक पक्षको अध्ययन गरी योजना अघि बढाइने उनले बताइन्।

आफ्ना बालबच्चाको पालनपोषण र शिक्षाका लागि स्थानीय उत्पादन गरेर आम्दानीको बाटो बनाएको कोदोको रक्सीलाई प्रतिबन्ध गर्न नहुने उनको भनाइ छ। त्यस्तै, शरीर ढाक्ने एकसरो कपडा लगाउनका लागि गरेको परिश्रमको मुल्याकंन नगरि विदेशी रक्सी होटलमा खुला रुपमा बेचविखन गरिरहेको अवस्था रहेको उनको बुझाई छ।

‘एउटा नाङ्गो शरीरमा चोली लगाउँ, बालबच्चाको आङ ढाकिदिउँ, उनीहरुका लागि कापीकलम किनिदिउँ, भनेर दुई चार पाथी घ्याम्पामा पकाएको जाँड रक्सीलाई लात्ताले हान्न पुलिस हामीले पठाउँछौं’, उनले भनिन्, ‘तर, विदेशी रक्सी फाइभस्टार होटलमा एउटा बोतलको पचासौं हजारमा चियर्स गरिरहेका छौं।’

त्यसो त प्राकृतिक स्रोत साधनको प्रयोग गरेर युवाका लागि स्वदेशमै रोजगार सृजना गर्ने उद्देश्य रहेको उनले बताइन्।

सरकारले बजेट बिनियोजन गरेका क्षेत्रहरुमा वैज्ञानिक किसिमका विचार र कार्यक्रम नभएकाले उपलब्धि हासिल गर्न नसकेको उनको भनाइ छ। त्यसैले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर अघि बढ्ने योजना रहेको उनले बताइन्।

‘लोकल उत्पादनको प्रयोगका लागि आजसम्म कुन कानुनले छेक्यो? जुन कानुनले छेक्यो त्यसलाई बदलेर अघि बढ्नुपर्छ,’ उनले भनिन्।

नेपाली कोदोको रक्सी ब्राण्डिङ गर्नेसँगै स्वास्थ्य, शिक्षा लगायतका आफ्ना प्राथमिकताका क्षेत्रहरुबारे मन्त्री राईले प्रष्ट्याएकी छिन्।

उनको योजना अनुसार स्वास्थ्य क्षेत्र अन्तर्गत हरेक अस्पतालमा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापनमा ध्यान दिइनेछ। त्यस्तै, स्वास्थ्य बिमा कोभिड-१९ को दोस्रो चरको संक्रमण रोकथाम तथा नियन्त्रण कोभिड खोप लगायत प्रदेशका मुख्य बसपार्क जिल्ला सदरमुकाम र शहर बजारमा सार्वजनिक सौचालय निर्माणमा विशेष ध्यान दिइनेछ।

विद्यालयको शैक्षिक गुणस्तरमा सुधारका कार्यक्रमलाई शिक्षा क्षेत्रको प्राथमिकतामा राखिएको छ। सामुदायिक विद्यालयको शिक्षाको प्रभावकारिता बढाउँदै आधारभुत तहमा अंग्रेजी माध्यमबाट पठनपाठनको सुरुवात हुनेछ भने स्थानीय मातृभाषाबाट शिक्षा लिनले नीतिको कार्यान्वयनलाई प्रोत्साहन गरिनेछ।

त्यसैगरी, मन्त्री राईका योजनामा महिला बालबालिका अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकका क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको छ। युवा खेलकुद तथा भाषा संस्कृति श्रम तथा रोजगार र कानुन निर्माण लगायतका योजना रहेको उनले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell