PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

माओवादी केन्द्रले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावसँगै समर्थन पनि फिर्ता लिने



फूलमाया पुरी

माओवादी केन्द्रले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावसँगै समर्थन पनि फिर्ता लिने

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्दको अविश्वासको प्रस्ताव फिर्ता हुने भएको छ। नेकपा एमालेको माधव नेपाल समूहले फिर्ता लिएसँगै माओवादी केन्द्रले पनि अविश्वासको प्रस्ताव फिर्ता लिने भएको हो।

अविश्वासको प्रस्तावसँगै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने नेकपा माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए। प्रदेश १ प्रदेशसभाको बैठकअघि नै माओवादी केन्द्रले समर्थन र संसदमा गएर प्रकृयागत ढंगबाट अविश्वासको प्रस्ताव फिर्ता लिने उनको भनाइ छ।

‘हामीले सरकारलाई दिएको समर्थन त प्रदेशको संसद् बैठकअघि नै फिर्ता लिन्छौं’, उनले भने, ‘किनकी संसदमा छिर्दा विपक्षमा बस्नेछौं। अविश्वासको प्रस्ताव सायद संसदमा बोलेर फिर्ता गर्नुपर्ने भएको हुँदा प्रक्रियाअनुसार नै फिर्ता हुन्छ।’

प्रदेश १ को सातौँ हिउँदे अधिवेशनको चौथोँ बैठक चैत २३ गते बस्दैछ। ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिए पनि सत्ता समीकरणमा कुनै असर गर्दैन। प्रदेशसभामा नेकपा एमाले एक्लैसँग स्पष्ट बहुमत छ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए। त्यसपछि प्रचण्ड-माधव समूहले पुस १२ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्द अविश्वासको प्रस्ताव दर्ता गराएको थियो।

गत फागुन ९ गते टेबल भएको उक्त प्रस्ताव फिर्ता हुन लागेको हो। माधव समूहले दलको दबाबका आधारमा अगाडि नै फिर्ता लिए पनि माओवादी केन्द्रले भने बैठकबाटै फिर्ता लिने तयारी गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell