PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

भारतको सहयोगमा निर्माण भएका हुलाकी राजमार्गका १३ सडक खण्ड नेपाललाई हस्तान्तरण



पहिलोपोस्ट

भारतको सहयोगमा निर्माण भएका हुलाकी राजमार्गका १३ सडक खण्ड नेपाललाई हस्तान्तरण
Photo: indembkathmandu.gov.in

काठमाडौँः भारतको सहयोगमा निर्माण सम्पन्न भएका हुलाकी राजमार्ग अन्तर्गतका सडक खण्ड नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। बुधबार एक कार्यक्रमबीच सडक हस्तान्तरण गरिएको हो।

निर्माण सम्पन्न भएका १४ मध्ये १३ सडक खण्ड नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई हस्तान्तरण गरेका हुन्।

यातायात मन्त्रालयमा भएको सो कार्यक्रममा सचिव रवीन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, परियोजना निर्देशक रोहितकुमार बिसुराललगायतको सहभागिता रहेको थियो।

तराईका विभिन्न क्षेत्रमा सडकको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पूर्वपश्चिम राजमार्ग नजिक रहेका सडक निर्माणको लागि नेपालले भारतसमक्ष प्रस्ताव राखेको थियो। जसको लागि भारतले ८ अर्ब रुपैयाँ सहयोग गर्न तयार भएको थियो। प्रदेश १, २ र लुम्बिनी प्रदेशका नेपाल-भारत सीमामा रहेका जिल्लाका सडक खण्डको निर्माणमा भारतले सहयोग गरेको हो।

यी सडक नेपालको सडक विभागले तोकेको मापदण्ड अनुसार निर्माण गरिएको भारतीय दूतावासले जनाएको छ। आर्थिक वर्ष २०६६/६७ मा निर्माण सुरु भएको हुलाकी राजमार्ग आयोजनामध्ये १३ वटा खण्ड सम्पन्न भएका हुन्। त्यस्तै, हुलाकी राजमार्गलाई जोडने वीरगंज-ठोरी ३० किलोमिटर सडकखण्ड निर्माण सम्पन्न हुने चरणमा रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell