PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

पर्साको जंगलमा लागेको डढेलो नियन्त्रणमा



राधेश्याम पटेल

पर्साको जंगलमा लागेको डढेलो नियन्त्रणमा

वीरगंज : पर्साको राष्ट्रिय वन क्षेत्रमा केही दिन यता लागेको डढेलो नियन्त्रण भएको दाबी गरिएको छ। निकुञ्ज प्रशासन, वन कार्यालय तथा सुरक्षा अधिकारीहरुले यस्तो दाबी गरेका छन्। पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले निकुञ्जमा लागेको डढेलो नियन्त्रण भईसकेको बताए।

निकुञ्जको गडुवालाइन पोष्टको जंगल क्षेत्रमा बढी डढेलो लागेकोमा नेपाली सेना तथा मध्यवर्ती क्षेत्रका सदस्यहरुको प्रयासमा डढेलो नियन्त्रण गरिएका प्रमुख संरक्षण अधिकृत साहले जानकारी गराए। जंगलमा आगो लगाउनु अपराध भएको उल्लेख गर्दै उनले चेतनाको अभावमा गाइवस्तु चराउन वा दाउरा लिन जानेहरुले चूरोटको ठुटो फाल्दा जंगलमा आगलागी हुने गरेको बताए।

यस सम्बन्धमा डिभिजन वन कार्यालय पर्साका निमित्त प्रमुख सहायक वन अधिकृत फरमान मियाले राष्ट्रिय वनमा लागेका डढेलो नियन्त्रणका लागि जनशक्ति परिचालन गरी आगो नियन्त्रणमा लिएको बताए। वन कार्यालय पर्साको क्षेत्र वसन्तपुर, रंगपुर तथा सबैया लगायतका क्षेत्रमा दर्जनौ स्थानमा डढेलो नियन्त्रण गरिएको उनको दाबी छ। यसका साथै बिभिन्न क्षेत्रमा डढेलो नियन्त्रणका लागि वनसँग सरोकार राख्ने जनप्रतिनिधिहरु, सञ्चारकर्मी तथा स्थानीयबीच जनचेतना मूलक कार्यक्रम पनि जारी रहेको उनले जनाए।

निर्मल–ठोरी वन उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले पनि डढेलो नियन्त्रण भइसकेको जानकारी गराएका छन्। अन्य क्षेत्रमा डढेलो लाग्न नदिन निगरानी बढाइएको अध्यक्ष बस्नेतले जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell