काठमाडौँः प्रहरीले मानवबेचविखन र जवर्जस्तिकरणीको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले काठमाडौंको विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। सिन्धुली सुनकोसी गाउँपालिका घर भएका २४ वर्षीय सरगम भन्ने श्याम कुमार भट्टराई, १८ वर्षीय मसेली भन्ने सुहागा तामाङ,५२ वर्षीय प्रकाश ढुंगेल, नुवाकोट सुर्यगढी गाउँपालिका घर भएकी ३१ वर्षीय मुना थापा मगर र काठमाण्डौका ४७ वर्षीय राज कुमार सुनार रहेका छन्।
सुहागा तामाङले १६ वर्षीय एक किशोरीलाई काठमाडौंमा कपडा पसलमा काम लगाइदिने भनी फकाइ चैत १२ गते ल्याइ श्याम कुमार भट्टराईसँग मिलेर काठमाडौंको माकलबारीमा फ्ल्याट भाडामा लिएको कोठामा राखी होटेलमा ग्राहकसँग जवर्जस्तिकरणी गर्न लगाएको उजुरी पीडित किशोरीका बुबाले प्रहरीमा दिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको परिसरका डिएसपी दीपक गिरीले जानकारी दिए। प्रहरीले माकलबारीमा रहेको घरमा छापा समेत मारेको छ।
प्रहरीको अनुसन्धानमा सुहागा तामाङले आर्थिक अवस्था कमजोर भएका बालिका तथा युवतिहरूलाई काठमाण्डौमा कपडा पसल लगायतमा काम लगाई दिने भन्दै ल्याउने गरेको खुलेको छ। त्यसपछि बालिका तथा युवतिहरूलाई श्याम कुमार भट्टराईको सम्पर्कमा पुर्याउँछिन्। श्यामले बालिका तथा युवतिहरूलाई सहरी फेसनको कपडा खरिद गरी लगाउन लगाई खाना, बस्न सुविधाका साथै मादक पदार्थ समेतको लतमा समेत फसाउने गरेको प्रहरीले जानकारी दिएको छ। त्यसपछि श्यामले नै विभिन्न माध्यमबाट बालिका तथा युवतीको फोटो होटेल तथा लजका सञ्चालकलाई पठाइदिने गरेका छन्। त्यसपछि होटेले संचालक त्यही फोटो ग्राहकलाई देखाएर रोजाइ अनुसारको बालिका र युवती होटेलमा पुराएर यौन क्रियाकला गराउने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।
बालिका तथा युवती नमानेको खण्डमा मार्नेसम्मको धम्की दिने गरेको डिएसपी गिरीले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
