काठमाडौं : सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस भएका नहकुल सुवेदीविरुद्ध परेको ५ र कुमार चुडाल विरुद्ध परेको दुई वटा उजुरी संसदीय सुनुवाइ समितिका सदस्यहरुलाई वितरण गरिएको छ।
आजको समितिको बैठकमा सिफारिसमा परेका न्यायाधीशहरु विरुद्ध परेको उजुरीको प्रतिलिपि सांसदहरुलाई वितरण गरिएको हो। समितिले चैत २२ गते उजुरीकर्तालाई बोलाएर छलफल गर्ने समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
न्यायपरिषदले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस गरेका सुवेदी विरुद्ध ५ र चुडाल विरुद्ध २ वटा उजुरी परेको थियो। दुवैमाथि चैत २५ गते सुनुवाइ सुरू गर्ने प्रारम्भिक मिति तय भएको समिति सभापति कर्णले जानकारी दिए।
सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा पनि मुद्दाको सुनुवाई हुँदैछ। आज न्यायाधीश तेजबहादुर केसीको इजलासमा सुवेदीविरुद्ध परेको मुद्दाको पेशी छ। सर्वोच्च अदालतको न्यायाधीश हुन सुवेदीको योग्यता नपुग्ने भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
