PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

प्रदेश १ मा बनाइने सम्पूर्ण भौतिक संरचना अपाङ्गता मैत्री बनाउन मन्त्री राईको निर्देशन



फूलमाया पुरी

प्रदेश १ मा बनाइने सम्पूर्ण भौतिक संरचना अपाङ्गता मैत्री बनाउन मन्त्री राईको निर्देशन

विराटनगर : प्रदेश १ मा अब बनाइने सम्पूर्ण भौतिक संरचनाहरु अपाङ्गमैत्री बनाउन सामाजिक विकास मन्त्री उषाकला राईले निर्देशन दिएकी छिन्। बिहीवार राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा गरिएको पहुँचयुक्तता र विश्वव्यापी सिद्धान्त सम्बन्धि दुई दिने तालिमको उद्घाटन सत्रमा मन्त्री राईले उक्त निर्देशन दिएकी हुन्।

संविधानले दिएको अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार दिलाउनका लागि मन्त्रालय सदैव प्रतिबद्ध रहेको उनले बताइन्। त्यसका लागि सबैले आ-आफ्नो क्षेत्रबाट सकृयताका साथ जिम्मेवारी पूरा गर्नुपर्नेमा उनले जोड दिइन्।

त्यसो त आफ्नो जिम्मेवारी पूरा नगर्ने तर अरुको कुरा काट्ने र औंला उठाउने हामी नेपालीको गलत संस्कार नै भएको पनि उनको भनाइ छ।

‘जुन परिवर्तन गर्न आवश्यक भएकोले आजैदेखि आफैँबाट परिवर्तन गर्नुपर्छ,’ मन्त्री राईले भनिन्।

त्यस्तै, अपाङ्गताका क्षेत्रका लागि बनेका कानुन ऐन तथा नियमहरु थुप्रै भएपनि तिनको  कार्यान्वयनमा प्रभावकारिता भने अझै नदेखिएको मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले बताए। अबका दिनमा कानुनी प्रावधानका मर्म अनुसार कार्यान्वयनलाई अघि बढाउनुपर्ने उनको भनाइ छ।

कार्कीका अनुसार प्रदेश १ मा १३७ वटा स्थानीय तह छन्। जसमध्ये ६९ वटा स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम लागू भइसकेको छ र अन्यका लागि पनि कार्यक्रम तय हुँदैछ।

त्यसैगरी, प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा दोभासे सहितको सूचना तथा परामर्श केन्द्रको व्यवस्था गरिएको उनले बताए। सविएम अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा आयोजित उक्त दुई दिने तालिममा ६० जनाको सहभागिता थियो।

महासंघ प्रदेश १ कार्यालय परियोजना अधिकृत जानुका कटुवालका अनुसार झापा, मोरङ, सुनसरी र उद्यपुरका सहभागीहरु छन्। जसमा १० प्रकारका अपाङ्गता भएका २० जना छन्। त्यस्तै, विराटनगर महानगरलगायत विभिन्न पालिका र शिक्षा विकास तथा समन्वय इकाई र भौतिक पूर्वाधार मन्त्रालयबाट इन्जिनियर सव इन्जिनियर, प्रशासन कर्मचारी २० जना रहेका छन्।

तालिममा ८ जना सञ्चारकर्मी र दुई जना दोभाषेको पनि सहभागिता रहेको कटुवालले जानकारी दिइन्। सहजीकरणका लागि काठमाडौं पुलचौक इन्जिनरिङ क्याम्पसकी सह-प्राध्यापक बिमला तुलाधर र प्राधापक सुजता शाक्य सहित महासंघका केन्द्रीय कार्यालय व्यवस्थापक मनिष प्रषाई रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell