PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

हेटौँडामा थप एक जनामा कोरोना संक्रमण पुष्टि



निशा गुरुङ

हेटौँडामा थप एक जनामा कोरोना संक्रमण पुष्टि

हेटौँडा : मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज ११ जनाको कोरोना परीक्षण गर्दा थप एक जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ।

पुष्टि हुनेमा हेटौँडा उपमहानगरपालिकाका ३४ वर्षीय पुरुष रहेका छन्। यसअघि १६ गते पुष्टि भएकाको कन्ट्याक्ट ट्रेसिङमा गरिएको परीक्षणमा थप एक जनामा पुष्टि भएको हो। यो सँगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या ४ पुगेको छ।

संक्रमित सबै हेटौँडा उपमहानगरपालिका भित्रका रहेका छन्। उनीहरु होम आइसोलेसनमा उपचाररत रहेका छन्।

३ हजार ८५८ जना संक्रमण मुक्त

मकवानपुरमा हालसम्म कोरोना पुष्टि भएका ३ हजार ८ सय ९४ जनामा ३ हजार ८ सय ५८ जना संक्रमण मुक्त भइसकेका छन्। मकवानपुरमा कोरोना संकमणको कारण हालसम्म ३२ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा २६ जना हेटौँडा उपमहानगरपालिकाका रहेका छन्। यसैगरि थाहा नगरपालिकाका र मनहरी गाउँपालिकाका २ र २ रहेका छन् भने वाग्मती र बकैया गाउँपालिकाका १ र १ जना रहेको छन्।

यसैबीच, जिल्ला प्रशासन कार्यालय तथा प्रजिअको नेतृत्वमा रहने जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरले यस अघि सञ्चालनमा आएका क्वारेन्टाइन तथा आइसोलेसन तयारी अवस्थामा राख्न परिपत्र गरेको छ।

आज प्रजिअ गोविन्द प्रसाद रिजालको नेतृत्वमा बसेको व्यवस्थापन केन्द्रको बैठकले कोभिड-१९ को संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै यसअघि सञ्चालनमा आएका क्वारेन्टाइन तथा आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्न सबै स्थानीय तह र हेटौँडा अस्पताललाई परिपत्र गरेको छ।

जिल्लाका सबै स्थानीय तहहरु र स्वास्थ्य केन्द्रहरुबाट प्रदान गर्ने सेवालाई अझ प्रभावकारी बनाउन आवश्यक तयारी गर्ने, एवं संक्रमण फैलिन नदिन विद्युतीय माध्यमबाट चेतनामूलक सन्देश प्रसारण गर्ने व्यवस्था समेत मिलाउने निर्णय गरेको छ।

बैठकले  मेला, महोत्सव, नयाँ वर्ष जस्ता चाडपर्वहरुमा भिडभाड नगर्न, नगराउन तथा सबैले जनस्वास्थ्यको मापदण्डहरु कडाईका साथ पालना गर्न, गराउन अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell