काठमाडौं : नुवाकोटे टाइगर र डेविडबीच दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि भिडन्त पक्का भएको छ। शुक्रवार पोखरा रगंशालाको बहुउद्देश्यीय कभर्डहलमा भएको ह्याबी वेटको प्रतिस्पर्धामा टाइगरले जित निकाले। उनले चट्टानमाथि पावर बम प्रयोग गरेर पछारेको अवस्थामा रिङ माथिबाट जम्प गर्दै एल्बो ड्याबको प्रयोग गरेपछि चट्टानले रेफ्रिको तीन काउन्टमा प्रतिकार गर्न नसक्दा पराजय ब्यहोरेका थिए।
डेविडले भने आफ्ना द्वन्द्वी साइनलाई पराजित गर्न निक्कै पसिना बगाउनु परेको थियो। साइनले डेविडलाई लगभग पराजित गरि सकेको अवस्थामा रेफ्रिको तीन काउन्टलाई प्रतिकार गर्दै खेलमा फर्किए थिए। अन्तिम समयमा डेविडले साइनमाथि सिल्जर टेक्निकको प्रयोग गर्दै जित निकालेका थिए। लाइट वेटको खेलमा एक्स हिरोले जे वल्डलाई पराजित गर्यो।
३ फिट ९ इन्च मात्र उचाई भएका एक्स हिरोले ५ फिट ५ इन्च भएका जे वल्डलाई हराउन नसक्ने आएको बेला टुपी ग्याङले जे वल्डको ध्यान भङ गरेको अवस्थामा रिङमा ढलेका एक्स हिरोले उठेर पछाडिबाट पल्टाएर दुवै खुट्टमा लक लगाई पराजित गरेका थिए ।
ठगु र द युगबीचको हाडकोट (खतरनाक) खेल भएको थियो। युगले फलामको चेनद्वारा ढाडमा प्रहार गरे पछि प्रतिकारमा उत्रिएका ठगुले टिनको पाताको कुर्सी कुच्याउने गरि टाउकामा पटक पटक प्रहार गरे पछि युग रक्ताम्ब्य भएका थिए। रिङ बाहिर धरासायी हुनेगरि पिटेर रिङमा ल्याए पछि रेफ्रिले तीन काउन्ट गर्दा युगले प्रतिकार गरेका थिए। घाइते भएका युगले पुन खेलमा फर्कदै ठगुलाई धारासाही बनाएर तीन काउन्टर गरेका अवस्थामा ठगुको पार्टनरले रेफ्रिलाईनै तानेर पछारेका थिए। त्यसपछि रिङमा युगका पार्टनर पनि आएपछि ठगु टोली रिङबाट बाहिरिएको थियो। उक्त खेल पुन: शनिवार हुनेछ।
महिलाहरुका त्रिकोणीय खेलमा दिलासाले बाजि मारिन्। तनु र डेनिका मिलेर दिलासालाई पिटेर धारासाही बनाउदै रिङ बाहिर पठाएका थिए। त्यस पछि तनु र डेनिकाबीच कडा प्रतिस्पर्धा भएर थकित भएको अवस्थामा ७ मिनेट पश्चात रिङमा प्रवेश गरेकी दिलसाले दुवैलाई हराएकी थिइन्।
नेपाल रिङ रेस्लिङ संघको आयोजनामा संचालन भएका २ दिने रिङ रेस्लिङ प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दावा तामाङ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गरेका थिए। राखेप सदस्य समेत रहेकी आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले उद्घाटन समारोहको अध्यक्षता गरेकी थिइन्।