PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

गोसाइकुण्ड तीर्थ जाँदा गाउँदै जाने प्रतिरोधको गीत 'सिलु म्ये'



सहयोग रञ्जित

गोसाइकुण्ड तीर्थ जाँदा गाउँदै जाने प्रतिरोधको गीत 'सिलु म्ये'

श्रीमान् सिलुको तीर्थयात्रामा निस्कने तयारीमा हुन्छन्। तीर्थमा जान साथी खोज्दै गर्दा श्रीमतीले आफू सँगै जाने बताउँछिन्। अर्को साथी खोज्न पर्दैन भन्दै उनी जोडी गए पुण्य हुने भन्छिन्। तर, श्रीमानले सिलुसँगै जाँदा छुट्टिनुपर्ने भन्दै नआउन भन्छन्। श्रीमानले एक्लै छाडेर तीर्थमा हिँडेपछि श्रीमती भने थाहा नदिइ पछिपछि हिँड्छिन्। श्रीमती पछाडि आइरहेको उनलाई कयौं दिनसम्म थाहा हुन्न। सिलु पुग्नै लाग्दा दुवैको जम्काभेट हुन्छ। अनि विछोड पनि। श्रीमानको सन्देह 'सत्य' सावित हुन्छ।

यही सेरोफेरोमा घुमेको छ मल्लकालमा लेखिएको 'सिलु म्ये'।

सिलु अर्थात गोसाइकुण्ड। शिवलुति, नीरकंठ, नीलकण्ठ इत्यादी नामले समेत चिनिने सिलु कालान्तरमा गोसाइकुण्ड भयो। म्ये भनेको गीत। 'सिलु म्ये' पुरुष पात्र र महिला पात्रबिचको संवाद हो। अन्त्यतिर राजासँगको संवाद पनि छ। नेवार समुदायमा अहिलेसम्म प्रचलित यो बांख म्ये (गीतिकथा) ले तत्कालिन समाजको परिवेशको चित्रण गर्ने प्रयास गरिएको छ।

डा जनकलाल वैद्यले भनेका थिए : गीतिकथा लेखेर गाउनु नेवा: जातिको आफ्नै सिर्जनात्मक कर्म हो।  त्यसैले त अहिले पुराना नेवार वस्तीमा रहेका दाफाहरुमा बिहान र साँझ गीतिकथाहरु अहिलेसम्म गाउने गरिन्छ। सिलु म्ये त्यसैको निरन्तरता हो।

त्यसबखत सिलुमा तीर्थ गएर स्नान गरेमा अति धर्म लाग्छ भन्ने विश्वास थियो। तर महिलाहरु तीर्थ जान हुँदैन भन्ने अर्को मान्यता थियो। त्यसैले पुरुष पात्रले जोगीलाई जोखना देखाउँछ। जोगीले पनि श्रीमतीलाई नलैजाउ नत्र विछोड हुन्छ भन्छ। श्रीमती भने प्रेम र अन्धविश्वासमा प्रेमलाई रोज्ने पक्षमा हुन्छिन्। उनी त्यसबेलाको समाजको लैंङ्गिक व्यवस्थाविरुद्ध 'प्रतिरोध' गर्छिन्। 'सिलु म्ये' त्यही प्रतिरोधको गीतिकथा हो।

+++

केही वर्षअघिको कुरा हो। अमेरिकाबाट एकजना लेखक नेपाल आएका थिए। उनले नेवार समाजमा लेखिएका 'प्रतिरोध र संघर्ष'का गीतहरुबारे बुझ्ने इच्छा राखे। लेखक राजेन्द्र महर्जनले उनलाई 'सिलु म्ये' सुनाए। त्यसको अर्थ बुझाए। लगतै ती व्यक्तिले उनलाई नेपाल भाषामा लेखिएको उक्त गीतलाई नेपालीमा अनुवाद गर्न आग्रह गरे। भोलिपल्ट बिहानै अमेरिका फर्किनुपर्ने हतारो थियो अमेरिकी लेखकलाई। त्यसैले महर्जनले हतारहतार गीत अनुवाद गरेर दिए। त्यसपछि महर्जनलाई यो गीतमा अझै गहिरो रुपमा अध्ययन आवश्यक रहेको अनुभूति भयो। अनि सुरु भयो 'सिलु म्ये' बारे खोजबिन।

एउटा अनुसन्धात्मक लेख लेख्ने सोच थियो, पछि गीतबारे खोज्दै जाँदा किताब नै बन्यो। राज्यविरुद्ध होस् या समाजविरुद्ध महर्जनका धेरैजसो कृतिहरु 'प्रतिरोध' कै वरिपरि लेखिएको हुन्छ। उनी 'सिलु म्ये' पनि त्यही प्रतिरोधहरु खोज्दा खोज्दै गर्दाको अनुसन्धानको उपज भएको बताउँछन्।

केही समयअघिमात्रै 'सिलु म्ये' को अनुसन्धात्मक किताब नेपाल प्रज्ञा प्रतिस्थानले प्रकाशित गरेको छ। हुन त यसअघि पनि मल्ल के सुन्दर, डा जनकलाल वैद्य, प्रेमबहादुर कसा:, योगेन्द्र राजकर्णिकार लगायतले अध्ययन गरिसकेका थिए। महर्जनले ती सबैको अध्ययनलाई थप प्रस्टाउँदै 'सिलु म्ये'को समाजशास्त्र प्रस्तुत गर्ने प्रयास गरेका छन्।


लेखक राजेन्द्र महर्जन


यो गीत जयप्रकाश मल्लको शासन कालमा रचिएको लिखित इतिहास छ। महर्जन भने यो 'बाखं म्ये' जयप्रकाश मल्लको शासनकालभन्दा अघि देखि नै गाउन सुरु भएको बताउँछन्।

'यो गीत त्यसअघि देखि नै चलनचल्तीमा थियो। लिपिबद्ध भने जयप्रकाशको बेलामा भएको हुनसक्छ। पछि पनि यो गीत विस्तार हुँदै गयो' उनले भने।

सिलु म्येको पनि विभिन्न 'भर्सन' छन्। बाखं म्येका रुपमा गाउन सुरु भएको यो गीत विस्तार गरेर माधुर्य बनाउन पछिमात्रै काम भएको महर्जन बताउँछन्। शाहकालमा यो गीत परिमार्जन गर्ने काम भयो साथै महिलालाई थप बलियो बनाइयो।

सुरुमा यस गीतमा महिलालाई कमजोर पात्रका रुपमा प्रस्तुत गर्ने प्रयास भए पनि पछि बलियो पात्रको रुपमा स्थापित भएको महर्जनको दाबी छ।

सिलु म्येमा पुरुषमा पित्तृसत्ता र अन्धविश्वासको 'प्रभुत्व' हावी हुँदा महिला त्यसको प्रतिरोधमा उत्रिन्छन्। जुन गीतिकथाको अन्त्यसम्म जारी रहन्छ।

सिलु पुगेपछि विछोड हुनुपर्छ भन्ने श्रीमानको सन्देह सत्य हुन्छ। व्यभिचारी राजाले सिपाहीहरु पठाएर महिला पात्रलाई अपहरण गरी दरबार लैजान्छ। त्यस क्रममा राजाले पठाएको तारी स्वाँ (फूल) महिलालाई दिइन्छ। विछोडको संघारमा रहेको बेला श्रीमान् निरिह हुन्छ। महिलाले भने श्रीमानलाई नरुन र राजाले दिएको तारी स्वाँ श्रीमानलाई नै सिउरिदिने भन्दै राजासँग दरबारमा प्रतिरोध गरेर फेरि भेट्ने इच्छा प्रकट गर्छिन्।

दरबार पुगेपछि राजाले ती महिलालाई राजसी सेवा सुविधा दिने बताउँछन्। तर महिला भने राजाको सबै सुविधा अस्वीकार गर्दै आफ्नै श्रीमानसँग कसरी भेट्ने भन्ने युक्ति खोज्दै हुन्छिन्। त्यस क्रममा महिलाले चतुर्माससम्म आफ्नो व्रत रहेको भन्दै राजाबाट बच्न सफल हुन्छिन्। र व्रत तोड्ने दिन जोगीहरुलाई दरबारमा बोलाउन भन्छिन्। त्यही बेला ती महिलाका श्रीमान् पनि जोगी बनेर दरबार पुग्छन् र दुवै जना भाग्न सफल हुन्छन्।

यस गीतमा महिला पात्रलाई  गीतमा नायकलाई 'इनक्टिभ',  नायिकालाई 'एक्टिभ एन्ड एग्रेसिभ' रुपमा प्रस्तुत गरिएको छ। परिवार, समाज र राजासँग प्रतिरोध गरेर उनी आफ्नो लक्ष्यमा अडिग हुन्छन्। जसकारण सुरुमा गीतले वियोगको संकेत दिए पनि अन्त्यमा सुखद् मिलन हुन्छ। अहिले पनि गोसाइकुण्ड जाने बेला यो गीत गाउने गरिन्छ। साथै केही दाफाहरुमा समेत यो गीत गाइन्छ।

लेखक महर्जन यो गीत 'गुप्त प्रतिरोध' को कथा भएको बताउँछन्। सुरुदेखि अन्त्यसम्म महिलाले विभिन्न बाधाहरुको प्रतिरोध गरिरहेको प्रस्तुत गरिएको छ। त्यसबखतको समाजलाई जसरी 'प्रोट्रे' गर्ने प्रयास गरिरहेको छ त्यसमा महिलाले आफ्नो पहिचानलाई स्थापित गर्न गरेको संघर्ष उच्च रहेको महर्जन बताउँछन्। तर, महर्जन यस गीतिकथामा लेखक वा लेखिकाले महिलालाई बलियो पात्रको रुपमा उभ्याउन खोजेको छ छैन त्यो प्रश्न रहेको बताउँछन्।

महर्जन भन्छन् , 'यस गीतमा महिला पुरुषको हेजिमोनाइज विचारसँगै संघर्ष गर्दै सिलु पुग्छिन्। त्यो कमै मानिसले मात्रै गर्न सक्थे। गीतमा महिलालाई धेरै सक्रिय देखाइएको छ। सुरुमा सँगै गए छुट्टिन्छ भन्ने संकेत देखिन्छ। तर त्यहाँभित्रको संघर्षले त्यसो भन्दैन। महिलाले पाइला पाइलामा प्रतिरोध गरेको छ। र त्यसबारे राजाको व्यवहार, पुरुष ज्योतिषीले भनेको सबै कुरालाई प्रतिरोध गरेको छ। समाजलाई च्यालेन्ज गरेको छ। यो सामान्य कुरा होइन।'

को हुन सर्जक?  

'सिलु म्ये' कसले लेखेको हो थाहा छैन। यसमा नेपाल मण्डल भित्र क्षेत्रका स्थानहरुको नाम उल्लेख गरिए पनि कुन राजाले महिला पात्रलाई अपहरण गर्‍यो भन्ने पनि स्पष्ट छैन। सिलुसम्म लामो दुरीको यात्रा गर्ने चलन मल्लकालमा नै धेरै देखिन्छ। यक्ष मल्लदेखि अन्य मल्ल राजाहरुले यात्रा गरेको प्रमाणहरु छन्। त्यहाँ गएर मल्ल राजाहरुले आफूलाई दीक्षित गर्ने परम्परा थियो। नेपाल मण्डलसँग जोडिएका राजाहरुको राज्याभिषेक भएपछि एकपटम सिलु चाहिँ पुग्नै पर्ने परम्परा थियो। त्यहीबाट नेवारहरुमा पनि सिलु जाने चलन बसेको अनुमान लगाउन सकिन्छ। तर यो गीत मल्ल राजाप्रति नै केन्द्रीत छ भनेर भन्न सकिने अवस्था छैन।  

नेपाल भाषामा अज्ञात कविहरुले लेखेका धेरैजसो 'बांख म्ये '(गीति काव्य) हरुमा प्रतिरोधका शब्दहरु सुन्न सकिन्छ। शितला माजु म्ये होस् या सिलु म्ये। यसका रचनाकार अज्ञात छन्। तर यिनमा तत्कालिन शासन व्यवस्थाले गरेको अन्याय र अत्याचार शब्दमार्फत उजागर भएको लेखक महर्जन बताउँछन्।

अधिकांश नेपाल भाषाका लोक गीत लोक गाथाहरु हेर्ने हो भने त्यसमा राजाको समय उल्लेख गर्ने परम्परा देखिन्छ। तर लेखक वा लेखिकाको नाम भने लेखिँदैन थियो। किन त्यस्तो गर्‍यो भन्ने चाहिँ प्रश्न अझै रहेको महर्जन बताउँछन्।

सिलु म्येबारे अध्ययन गरेका सिग्फ्रेड लिनहार्डले यो गीतिकथा एकजना 'ज्यापु'ले रचेको भनेर उल्लेख छन्। तर महर्जन भने आफू लिनहार्डको उक्त दाबी प्रति असहमति जनाउँछन्।

'गीतमा जसरी सम्बोधन भएको छ। स्वामीको रुपमा जसरी श्रीमानलाई प्रस्तुत गरिएको छ। नेवारहरुमा, अझै ज्यापु समुदायमा त्यो खालको सम्बोधन धेरै कम हुन्थ्यो। एकखालको समान खालको सम्बोधन हुन्थ्यो। दुवैले एकअर्कालाई 'छ'(तिमी) नै भन्ने चलन छ' उनी भन्छन्,'लिनहार्डले केही आधारहरु देखेरै ज्यापुले लेखेको भने भनेका होलान्. तर ती आधारहरु कतै लेखिएका छैनन्। मैले भाषाका आधारमा अध्ययन गर्दा त्यो नहुन सक्छ भन्ने कुरा हो।'

गीतको अध्ययन गर्दा आफ्नो श्रीमानसँगै यात्रा गर्न जाने श्रीमतीले जसरी प्रतिरोध गर्छिन्। महिला र पुरुषबीच धेरै भेदभाव नभएको समाजको महिला हुनुपर्छ भन्ने अनुमान गर्न सकिने उनी बताउँछन्।

'त्यो ज्यापु पनि हुन सक्छ अरु कुनै समुदायको पनि हुन सक्छ। अनुमान गर्न सकिन्छ तर त्यसलाई पुष्टि गर्ने आधार छैन' उनले भने।

नेवार समुदायमा बांख म्येहरु अहिले पनि जीवन्त छन्। रणबहादुर शाहको दमनविरुद्ध शितला माजु को गीत होस् या भीमसेन थापाले राजराजेश्वरीलाई सति पठाउन बाध्य बनाउँदाको कथा। सिलु म्ये होस् या भैरवसम्बन्धी गीति कथा। यी सबै अहिले पनि कुनै न कुनै रुपमा दाफाहरुमा गुञ्जिरहेका छन्। महर्जन यी त केही रचनाहरु मात्रै भएको र यस्ता कयौं साहित्यहरु लुकेर बसेको हुनसक्ने बताउँछन्।

भन्छन्, 'अहिलेसम्म यी गीतहरु जीवित रहनु आफैमा उपलब्धि हो। यी गीतहरुले हामीले इतिहासलाई वर्तमान परिवेश सँग दाँजेर बुझ्न सहयोग गर्छ। साथै अन्य गीति साहित्यबारे अनुसन्धान गर्न हामीलाई प्रेरित गर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell