PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

पुनर्निर्माणपछि सुविधासम्पन्न बन्यो भृकुटी मावि, नयाँ भवनमा पढ्न विद्यार्थी आतुर



निशा गुरुङ

पुनर्निर्माणपछि सुविधासम्पन्न बन्यो भृकुटी मावि, नयाँ भवनमा पढ्न विद्यार्थी आतुर

हेटौँडा : हेटौँडाको भृकुटी माध्यमिक विद्यालय पुरानो भइसकेको थियो। त्यसमाथि २०७२ सालको भुकम्पले पनि क्षति गरेपछि विद्यालयको भवन जोखिमपूर्ण भइसकेको थियो। भुकम्पले चर्केर रेड स्टिकर लगाइएको निकै जोखिमयुक्त भवनमा पढ्दै आएका थिए विद्यार्थीहरु।

अब भने बालबालिकाले सुविधासम्पन्न भवनमा दिनहुँ करिब ६ घण्टा रमाउँदै पढ्न पाउने भएका छन्। २०७२ को भुकम्पपछि स्थानीयस्तरमा पुनर्निर्माण भएका विद्यालय भवन देख्दा महलझैँ लाग्न थालेको छ।

हेटौँडा उपमहानगरपालिका-१४ की राखी तामाङलाई कहिले विद्यालय जाउँ भइसकेको छ। उनी कक्षा ८ मा पढ्छिन्। विद्यालयको नयाँ र सुविधासम्पन्न भवन देख्नेवित्तिकै उनलाई कहिले त्यो भवनमा पढ्न जाउँ भइसकेको छ।

वडाकै अस्मिता बज्युलाई पनि त्यस्तै छट्पटी भइरहेको छ। उनी कक्षा ९ मा अध्ययनरत् छिन्। साथीभाइहरु बोर्डिङका ठूला भवनमा पढ्न जाँदा आफूलाई पनि त्यस्तै भवनमा पढ्न पाए हुन्थ्यो भन्ने सपना थियो उनको। उनको सपना अब छिट्टै साकार हुने भएको छ। राखी र अस्मितामात्र होइनन्, वडाको भृकुटी माध्यमिक विद्यालयका विद्यार्थी धेरै उत्साहित छन्।

सुविधासम्पन्न र ठूलो भवन बनेको विद्यालयमा पढ्न पाउने उनीहरुले सोचेका थिएनन्। पुरानो भवन, त्यही पनि भुकम्पले चर्केर रेड स्टिकर लगाइएको, निकै जोखिमयुक्त भवनमा पढ्दै आएका थिए विद्यार्थीहरु। खहरेले विद्यालयनजिकका पाखा बगाइसकेको थियो। यसपालिको खहरेले विद्यालय नै बगाउनेसम्मको स्थितिमा विद्यार्थी पढ्दै आएका थिए। १८ शिक्षक पनि त्राहिमाम थिए।

अब विद्यार्थीहरु जोखिममुक्त हुने भएका छन्। विद्यार्थीहरुलाई जोखिमयुक्त भवनबाट हटाउन युएसएडको सहयोगमा एनआरएस परियोजना अन्तर्गत बनेको भवनको साँचो बुधवार एनआरएस परियोजना प्रमुख रामजी थापाले विद्यालयलाई हस्तान्तरण गरेका थिए। २०७६ बैशाख १६ गते निर्माण शुरु भएको भवन निर्माण सम्पन्न भएर साँचो हस्तान्तरण गरिएको हो। १८ करोड लगानीमा निर्माण भएको विद्यालय अपांगमैत्री छ, त्यहाँ अशक्त विद्यार्थी सहज रुपमा शौचालय जान सक्ने भौतिक अवस्था छ।

विद्यालय भवन वातावरणमैत्री पनि छ। घाम लाग्दा कक्षाकोठामा नजाने र गर्मी मौसममा गर्मी नहुने र चिसोमा चिसो नहुने गरी विद्यालयको भौतिक संरचना निर्माण भएको विद्यालयका प्रधानाध्यापक अच्युतकृष्ण रिजालले बताए। विद्यालयका लागि २२ कोठे भवन निर्माण गरिएको छ।

विद्यालयमा ३ सय १८ विद्यार्थी छन्। विद्यालयमा २५ वटा कम्युटर प्रदान गरिएको प्रधानाध्यापक रिजालले जानकारी दिए। विद्यालय भवनको ठेक्का हिमालयन बिल्डर्स कम्पनीले लिएको थियो।

नयाँ भवनमा विद्यार्थीको परीक्षा सकिनेबित्तिकै बैशाख २ गतेबाट पढाइ शुरु हुने प्रअ रिजालले बताए।

‘नयाँ भवनमा सर्नुअघि विद्यार्थीका अभिभावकसँग बैठक राख्छौँ। र, उहाँहरुलाई आफ्ना छोराछोरीहरु यस्तो विद्यालयमा पढ्दै गर्दा शैक्षिक गुणस्तरमा लाग्न प्रेरित गर्नेछौँ,’ उनले भने।

विद्यालयमा विपन्न परिवारका विद्यार्थी पढ्ने गरेका छन्। कतिपयको त शैक्षिक सामग्रीसमेत किन्न नसक्ने अवस्थामा नयाँ सुविधासम्पन्न भवनमा पढ्न पाउँदा अभिभावक र विद्यार्थी खुशी भएको प्रधानाध्यापक रिजालले बताए। नयाँ भवनमा सरेपछि पुरानो जोखिमयुक्त भवन भत्काएर खेलमैदान बनाउने तयारी रहेको रिजालले जानकारी दिए।

वडा अध्यक्ष दीपक खड्का विपन्न वर्गका विद्यार्थी पढ्ने विद्यालय सुविधासम्पन्न हुनु खुशीको कुरा भएको बताउँछन्। उनले आफ्नो जिम्मेवारी थप भएको हुँदा शैक्षिक गुणस्तर बढाउनेतर्फ आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell