PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई माओवादीले गर्‍यो कारबाही



पी बी खड्का

एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई माओवादीले गर्‍यो कारबाही

सुर्खेत : नेकपा (माओवादी केन्द्र)ले पार्टी परित्याग गरेका प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई कारबाही गरेको छ। निर्वाचित सांसद रेग्मीले पार्टी छोडेर नेकपा (एमाले)मा प्रवेश गरेसँगै कारबाही गरिएको माओवादी केन्द्रले जनाएको छ।

प्रमुख सचेतक सीता कुमारी नेपालीका अनुसार पार्टीले कारबाही गरेसँगै सांसद रेग्मीको पद गुमेको छ।

‘प्रदेशले पार्टी अध्यक्ष प्रचण्ड समक्ष शिफारिस गरेको थियो’, प्रमुख सचेतक नेपालीले भनिन्, ‘पार्टीले पहिलेनै कारबाही गरिसकेको अवस्था हो, प्रदेशको संसदीय दल प्रदेशसभा सचिवालयमा कारबाही गरेको जानकारी हिजो गरेका छौँ। अब उहाँ (रेग्मी) सांसद पदमा रहनु भएन।’

सांसद रेग्मी नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएदेखि एमालेको केपी शर्मा ओली समूहमा खुलेर लागेका छन्। उनलाई एमालेको ओली समूहबाट कर्णाली प्रदेश सचिवको जिम्मेवारी दिइएको छ।

प्रदेश प्रमुखको भूमिका आपत्ति जनक : माओवादी

त्यस्तै, माओवादी केन्द्रले प्रदेश प्रमुखको भूमिकामाथि आपत्ति जनाएको छ।

‘संविधान र विधान अनुसार विश्वासको मत लिने, अविश्वासको प्रस्ताव सामना गर्ने कुरामा हाम्रो दल प्रष्ट छ’, प्रमुख सचेतक नेपालीले भनिन्, ‘सरकारलाई समर्थन गर्दा १९ जनाको हस्ताक्षर छ, अहिले फिर्ता लिएको भनिएकोमा १० जनाको छ, त्यो पनि किर्ते हुनसक्छ ।’

उनले थपिन्, ‘मन्त्रिहरु त अहिलेसम्म यथावतै हुनुहुन्छ, प्रदेश प्रमुखले गरेको गतिविधिप्रति हाम्रो पार्टीको गम्भीर खेद छ, घोर आपत्ति छ।’

प्रदेश प्रमुखले संविधानले दिएको अधिकारभन्दा बाहिर गएर यस्ता गतिविधि गरेको आरोप माओवादी केन्द्रको छ। एमालेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीलाई चैत ४ गते जानकारी गराएलगत्तै सोही दिन उनले समर्थन फिर्ताको जानकारी सरकारलाई गराएका थिए।

त्यसयता मुख्यमन्त्री शाही नेतृत्वको सरकारले अहिलेसम्म विश्वासको मत लिनतर्फ गृहकार्य नगरेको भन्दै चैत १७ गते पुनः सरकारलाई ध्यानाकार्षण पत्र पठाएका थिए। दलको बैठकमा १० जना सांसद उपस्थित बनेका थिए। आइतवार मात्रै नेकपा एमाले संसदीय दलको बैठक बोलाएको छ।

‘सरकार बहुमतमै छ’

माओवादी केन्द्रले अहिले सरकारलाई २१ जना सांसदको साथ रहेको भन्दै अल्पमतमा नपरेको दावी गरेको छ। अहिले तत्काल राजीनामा दिने र विश्वासको मत लिइहाल्नुपर्ने अवस्था नरहेको प्रमुख सचेतक नेपालीले स्पष्ट पारिन्।

‘अहिले सरकार बहुमतमै छ’, प्रमुख सचेतक नेपालीले भन्छिन्, ‘एमालेकै सांसदहरुको समर्थन कायमै छ भनेर भनिरहनुभएको छ, मन्त्रीले राजीनामा दिनुभएकै छैन। एमालेको एउटा पक्षको निर्णय हो, अर्काे पक्ष त हामीसँगै हुनुहुन्छ।’

माओवादी केन्द्रले सरकार कसरी अगाडि बढ्ने भन्ने विषय आइतवार बस्ने नेकपा एमालेको संसदीय दलको निर्णयमा भर परेको छ। यदी सरकारमा रहेका मन्त्रीहरुले राजीनामा दिए अन्य दलहरुसँग वार्ता, छलफल गर्ने माओवादी संसदीय दलको बैठकले निर्णय गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell