काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। शनिवार दिउँसो डल्लुस्थित खनालको निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन्।
भेटमा अहिलेको समसामयिक राजनीतिक परिस्थितिको विषयमा समेत कुराकानी भएको पूर्व प्रधानमन्त्री खनालले बताए। राष्ट्रपति भण्डारी खनालको छिमेकमा रहेका इतिहास संशोधन मण्डलका अध्याता एवं प्रबर्द्धकहरु दिनेश पन्त र महेश पन्तको घरमा पुगेका बेला आफ्नो घरमा समेत भेट्न आएको खनालले बताए। भेटमा राष्ट्रपति भण्डारीले पार्टीमा देखिएको विवाद समाधान भएर जाओस् भन्ने चाहना रहेको बताएको पनि पूर्वप्रधानमन्त्री खनालले बताए।
उनले भने, ‘हामीले एकछिन भलाकुसारी गर्यौँ। विगतका कुराहरु पनि हामीले गर्यौँ। अहिलेको वर्तमान स्थितिको बारेमा पनि अलिकति कुराकानी गर्यौँ। उहाँले पार्टी आन्दोलन एकतावद्ध भएर जाओस्, लोकतन्त्र राम्रो भएर जाओस्, सुदृढ भएर जाओस्, मेरो राष्ट्रपतिको हैसियतले यही चाहना छ भन्ने कुराहरु व्यक्त गर्नुभयो।’
भेटमा आफ्नो स्वस्थ्यप्रति पनि राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गरेको खनालले बताए। तर, आफूले आफ्नो स्वास्थ्य भन्दापनि पार्टी र कम्युनिस्ट आन्दोलनको बारेमा चिन्ता लागेको कुरा राखेको उनले बताए।
राष्ट्रपतिसँगको कुराकानीबारे सुनाउँदै उनले भने, ‘अहिले पार्टीमा कतिपय समस्याहरु उत्पन्न भइरहेको बेलामा यहाँ आउनुभएको छ। सबै पार्टीहरु बलिया भए, सुदृढ भए एकतावद्ध भए भने मात्रै लोकतन्त्र बलियो हुन्छ। लोकतन्त्र बलियो हुनु भनेको, हाम्रो बहुदलीय व्यवस्था अथवा लोकतान्त्रिक गणतन्त्र बलियो हुनु भनेको पार्टीहरु बलियो हुने कुरा हो। पार्टी बलियो नभईकन लोकतन्त्र बलियो हुँदैन, त्यसकारण कसरी पार्टीलाई बलियो बनाउने भन्ने कुरामा म पनि सोँचिरहेको छु।’
उनले अगाडि भने, ‘राष्ट्रपतिज्यूले पनि तपाईले भनेजस्तो लोकतन्त्र बलियो बनाउनलाई पार्टीहरु नै बलियो हुनुपर्छ। सबै पार्टीहरु बलिया हुन्, एकीकृत पार्टी पनि सकेसम्म नफुटोस् र नेकपा एमाले पनि बलियो होस् भन्ने नै मेरो चाहना हो भन्नुभयो। तपाईहरु अहिले पनि सकेसम्म मिलेर जानुहोस् भन्ने सुझाव दिनुभयो।’
