PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

रामचन्द्र पौडेलले भने, ‘ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजान्छ’



पहिलोपोस्ट

रामचन्द्र पौडेलले भने, ‘ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजान्छ’
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने बताएका छन्। नेपाली कांग्रेस नुवाकोटद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसदमा अविश्वासको प्रस्ताव ल्याएर भएपनि हटाउने बताए।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको बताउँदै नेता पौडेलले ओलीले आफै राजीनामा नदिए कांग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव संसदमा लैजाने बताए।

उनले भने, ‘उहाँले राजीनामा दिनुहुन्न भने अविश्वास प्रस्ताव राखेर हामी हटाउछौँ।’

सरकार बाहिर रहेका, प्रतिगमनको विरुद्धमा संघर्ष गरेका र संसद पुनर्स्थापनाका लागि आवाज उठाएका तीन दलको बीचमा वार्ता गरी समझदारी बनाई सहमति गरेर प्रधानमन्त्री ओलीलाई हटाउन संसदमा अविश्वासको प्रस्ताव लैजाने उनले बताए।

‘खासगरी अहिले अपोजिसनमा रहेका र हिजोको प्रतिगमनविरुद्धमा संघर्ष गरेका र पुनर्स्थापनाका लागि आवाज उठाएका तीन वटा दलकोबीचमा पहिले हामी वार्ता गर्छौँ, समझदारी बनाउँछौँ र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव हामी पेश गर्छौँ,’ उनले भने।

अब बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने पनि उनले बताए। तर, यस विषयमा अन्य दलहरुसँग छलफल गर्न कांग्रेस तयार रहेको पनि उनले स्पष्ट पारे।

वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसको महाधिवेशन समयमै हुने पनि बताए। महाधिवेशन नभए कांग्रेसको अस्तित्व नै समाप्त हुने भएकाले समयमै महाधिवेशन सम्पन्न गरिने उनले बताए।

उनले भने, ‘महाधिवेशन हुन्छ, समयमै हुन्छ। नेपाली कांग्रेसको महाधिवेशन भदौमा हुन्छ, गर्नैपर्छ, नगर्दाखेरी त हाम्रो पार्टीको अस्तित्व समाप्त हुन्छ।’

जनता समाजवादी पार्टी नेपालका माग पूरा गर्न कांग्रेस प्रयासरत रहेको पनि वरिष्ठ नेता पौडेलले बताए।

उनले भने, ‘जनता समाजवादीका नेताहरुसँग हामी कुरा गर्छौँ। उहाँहरुका माग पूरा गर्नलाई हामी प्रयास गर्छौँ।’ -न्युज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell