PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

भारतबाट आउनेहरूमा बढ्दै कोरोना संक्रमण, गौरिफन्टा नाका भएर आएका ८७ जनामा देखियो पोजिटिभ



एम बम

भारतबाट आउनेहरूमा बढ्दै कोरोना संक्रमण, गौरिफन्टा नाका भएर आएका ८७ जनामा देखियो पोजिटिभ

कैलाली : सुदूरपश्चिम प्रदेशमा पछिल्लो दुई साता यता कोरोना संक्रमणको गति फेरी उकालो लागेको छ। भारतबाट आउनेहरूमा धमाधम कोरोना देखिन थालेपछि भाइरसको संक्रमण बढ्दै गएको हो।

भारतमा कोरोनाको दोस्रो लहर फैलिएको थाहा भएपछि गौरिफन्टा नाकामा पहिलो पटक चैत्र ३ गते परीक्षण गरिएको थियो। त्यसपछि ९ गतेबाट अहिले दैनिक आउनेहरूमध्ये केहीको परीक्षण भइरहेको छ। परीक्षणको दायरा बढाउँदै जाँदा संक्रमण पनि बढ्दै गएको छ।

बिहीवारसम्म नाकामा आएकाहरूमध्ये २० प्रतिशत भन्दा कमको परीक्षण भइरहेको थियो। शुक्रवार भने गौरिफन्टा नाकाबाट आएका साढे ७ सय मानिस मध्ये ५ सय ६६ पुरुष र १ सय १ महिलाको कोरोना परीक्षण गर्दा २७ जनामा भाइरसको संक्रमण पुष्टि भएको नाकामा सञ्चालित हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले बताए।

‘हालसम्म जम्मा ८७ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ’, उनले भने, ‘भारतका बढी कोरोना प्रभावित सहर मुम्बई, पन्जाब, पुना, सुरत, बेङ्लोर र गुजरातबाट आएकाहरूमा संक्रमण देखिने दर बढ्दै गएको छ।’

तर, नाकामा आउनेहरूमा भाइरसको संक्रमण दर बढ्दै जाँदा पनि सावधानीमा भने पहिलेको जस्तै बेवास्ता गरिएको छ। शुक्रवार नाकामा आएका एक सय भन्दा बढी मानिस परीक्षणबिनै नाकाबाट सिधै घर गएका छन्। त्यस अघिसम्म पछिल्लो दुई सातामा नेपाल भित्रिएका साढे ६ हजार मध्ये साढे ४ हजार मानिस पनि परीक्षणबिनै सार्वजनिक सवारी मार्फत सोझै घर गएका थिए।

गौरिफन्टा नाकामा कोरोना पोजिटिभ देखिएकाहरूलाई धनगढी उपमहानगरपालिकाले वडा नम्बर १५ को उर्मामा स्थापना गरेको आइसोलेसनमा पठाउने गरेको छ। तर, यसरी दैनिक बढ्दै गएको कोरोना संक्रमणलाई एक्लै उपमहानगरले धान्न सक्ने अवस्था भने छैन। अन्य स्थानीय तह तथा प्रदेश सरकारले अहिलेसम्म यसको रोकथाम तथा नियन्त्रणका लागि कुनै प्रभावकारी कदम चाल्न सकेका छैनन्।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले भारतबाट आइरहेकाहरूमा बढ्दो संक्रमणलाई रोकथामका लागि तयारी अवस्थामा बस्न सबै स्थानीय तहलाई भनेको छ। भारतमा फैलिएको भाइरसलाई सकेसम्म समुदायमा पुग्न नदिन पूर्व तयारीको अवस्थामा बस्न सबैलाई भनिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए।

तर, भारतबाट आइरहेकाहरूमा देखिएको दैनिक बढ्दो संक्रमण पुरानै भाइरस हो या दोस्रो अर्थात् युके भेरियन्ट हो भन्ने अहिलेसम्म पुष्टि हुन सकेको छैन।

गौरिफन्टा नाकासँगै कञ्चनपुरको गड्डाचौकी नाका भएर नेपाल आउनेमा पनि कोरोनाका संक्रमण दैनिक बढ्दै गएको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले दार्चुला र बैतडीका समेत गरी प्रदेशका मुख्य ४ नाकाका सतर्कता बढाइएको जनाए पनि परीक्षण र भारतबाट आउनेहरूको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell