PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

कीर्तेमा वीरगंज मालपोतको कीर्तिमान, ५ धुरलाई सवा कठ्ठा बनाएर बिक्री!



राधेश्याम पटेल

कीर्तेमा वीरगंज मालपोतको कीर्तिमान, ५ धुरलाई सवा कठ्ठा बनाएर बिक्री!

वीरगंज : मोफसलमा सबैभन्दा भद्रगोल सरकारी अड्डाको रुपमा भूमिसुधार तथा मालपोत कार्यालय पर्सा वीरगंजलाई चिनिँदै आएको छ। यहाँ दैनिक रुपमा श्रेस्ता कीर्ते र सरकारी कागजात कीर्ते गरी कर्मचारीकै सेटिङमा जे पनि गर्न पाइन्छ भन्ने घटनाहरु थपिँदो छ। अर्काको करोडौकै जग्गा कीर्ते गरी अर्कैले बिक्री गरेको संगठित कीर्ते तथा ठगीको आरोपमा पूर्व कार्यालय प्रमुख सुमनकुमार झा अहिले वीरगंज कारागारमा थुनामा छन्। उनीसँग एक करोड र कम्प्यूटर अपरेटरसँग ५० लाख धरौटी माग गरिएको छ।

यसैबीच यही मालपोतबाट वीरगंज महानगर भित्रको एउटा जग्गाको कागजातमा कीर्ते भएको रहस्य खुलेको छ। वीरगंज महानगरपालिका–१६ इनर्वास्थित ५ धुर जग्गाको लालपूर्जालाई कीर्ते गरेर १ कठ्ठा ५ धुर क्षेत्रफलको जग्गा बनाई बिक्री गरेको रहस्य खुलेको हो।

वीरगंज–१० अशोकबाटिका बस्ने राजेशकुमार विश्वकर्माले किनेको साविक छपकैया–बी ६ नम्बरको कित्ता नम्बर ६५८ को ५ धुर जग्गाको लालपूर्जामा कीर्ते गरी शून्यलाई तल धर्का तानी एक बनाएर त्यही जग्गाको १ कठ्ठा ५ धुर बनाई वीरगंज–१८ भवानीपुर निवासी मदनप्रसाद कलवारसँग बिक्री गरेको तथ्य फेला परेको हो। साबिक बारा जिल्लाको बुनियाद गाविस–९ निवासी योगेन्द्रप्रसाद यादवको श्रीमती फुलमती देवीसँग २०५६ साल वैशाख ६ गते विश्वकर्माले किनेको उक्त ५ धुर जग्गालाई १ कठ्ठा ५ धुर बनाई जिल्ला मालपोत कार्यालय पर्सामा २०६१ साल चैत १९ गते वीरगंज महानगरपालिका–१८ बस्ने मदनप्रसाद कलवारसँग बिक्री गरी उनको नाममा श्रेस्ता कायम गराएका छन्।

त्यसपश्चात मदनप्रसाद कलवारले उक्त जग्गा बिक्री वितरण गर्न श्रेस्ता कायम गर्दा साविकको जग्गा भिडाउन भनी मालपोत कार्यालय पर्साले लेखेपछि उक्त घटना बाहिर आएको हो। विश्वकर्माले उक्त कित्ताको जग्गा आफ्नो नाममा कायम गराउँदा ५ धुर नै रहेको तर बिक्री गर्दा १ कठ्ठा ५ धुर जग्गा बनाएर बिक्री गरेको पुष्टि भएको छ। त्यसअघि विश्वकर्माले फुलमती देवीसँग किन्दा पनि लालपूर्जामा ५ धुर नै जग्गा देखिएको छ। त्यस्तै, फुलमती देवीले पनि वीरगंज महानगरपालिका–१६ इनर्वा बस्ने बलरामप्रसाद यादवसँग २०५५ जेठ २७ गते किन्दा लालपूर्जामा ५ धुर नै जग्गा देखिएको छ।

तर विश्वकर्माले बीचको शून्यलाई धर्का तानेर एक बनाई १ कठ्ठा ५ धुर जग्गा बनाएर कलवारसँग बिक्री गरेको आशंका गरिएको छ। विश्वकर्माले आफ्नो लालपूर्जामा मात्रै नभई मालपोत कार्यालयका कर्मचारीहरुको मिलोमतोमा श्रेस्तामा पनि कीर्ते गरेका छन्। सम्पूर्ण जग्गाको रेकर्ड सुरक्षित राख्ने मालपोत कार्यालयको श्रेस्तामा पनि शून्यलाई कीर्ते गरेर एक बनाइएको सकिन्छ। यस कार्यमा विश्वकर्मा एक्लै मात्रै नभई तत्कालीन केही कर्मचारीहरुको मिलोमतोमा श्रेस्तामाथि नै कीर्ते गरिएकोले मालपोत कार्यालयको कार्यशैली शंकाको घेरामा परेका छन्।

मदनप्रसाद कलवारको नाममा जग्गा पास हुदाँ लेखत पत्रमा बारा, विश्रामपुर बस्ने रामेश्वर प्रसाद र पर्सा, वीरगंज महानगरपालिका बस्ने पिताम्बर प्रसाद साक्षीमा हस्ताक्षर गरेका छन्। उनीहरुको वडा र थर खुलाइएको छैन। मालपोत कार्यालय स्रोतका अनुसार लेखपढ कानुन व्यवसायीको दादागिरीको कारण मालपोतको मोठ फाँटमा पसेर मनपरी किसिमले श्रेस्ताको मोठ हेर्ने, कीर्ते गर्ने, च्यात्नेजस्ता काम हुने गरेको छ।
यस विषयमा भूमिसुधार तथा मालपोत कार्यलय पर्साका निमित्त प्रमुख कमोद तिवारीले आफू यस कार्यालयमा आउनुभन्दा धेरै अगाडिको घटना भए तापनि त्यस बारेमा छानबिन गरी दोषी पत्ता लगाई कारवाहीको लागि सिफारिस गर्ने आश्वासन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell