काठमाडौं : सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस भएका नहकुल सुवेदी र कुमार चुडालमाथि वैशाख २ गते संसदीय सुनुवाई हुने भएको छ। उनीहरुविरुद्ध परेको उजुरीलाई लिएर आज सुनुवाइ समितिमा उजुरीकर्ताहरुलाई छलफलका लागि डाकिएको थियो।
यसअघि चैत २५ गतेका लागि संसदीय सुनुवाई सुरु गर्ने मिति तय भएको थियो। सुवेदीविरुद्ध सर्वोच्च अदालतमा पनि मुद्दा परेको र त्यसको सुनुवाई चैत ३० गते हुने तय भएको छ। सर्वोच्चको फैसलापछि संसदीय सुनुवाईका लागि आज मिति तय भएको हो।
न्यायपरिषदले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस गरेका सुवेदी विरुद्ध ५ र चुडाल विरुद्ध २ वटा उजुरी परेको छ। दुवैमाथि चैत २५ गते सुनुवाइ सुरू गर्ने प्रारम्भिक मिति तय भए पनि आजको बैठकले सुनुवाई मिति पर सारेको हो।
यसअघिको बैठकमा समितिका सदस्यहरुलाई सुवेदी र चुडालविरुद्ध परेका उजुरीको प्रतिलिपि वितरण गरिएको थियो।
सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ। सर्वोच्च अदालतको न्यायाधीश हुन सुवेदीको योग्यता नपुग्ने भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
समितिमा आज उजुरीकर्तासँग छलफल भएको हो। सबै उजुरीकर्ताले सुवेदीको योग्यतामाथि प्रश्न उठाएका छन्। 'योग्यता नपुग्दा अदालतको गरिमा नरहने र वरिष्ठ न्यायाधीशहरुलाई पनि असहज हुने अवस्था आउँछ,' उजुरीकर्तामध्येका एक दिनेश त्रिपाठीले समितिमा बताए।
सर्वोच्च अदालतले चैत ३० गते निर्णय सुनाउने हुँदा समितिलाई त्यसले सहजता प्रदान गर्ने छ।
अयोग्यलाई सिफारिस गर्दा सिफारिस गर्नेलाई के गर्न सकिन्छ? भन्ने नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले सोधेका थिए। त्यसको जवाफमा अधिवक्ता त्रिपाठीले सिफारिसकर्तामध्ये एक प्रधानमन्त्री भएको र उनलाई जनताले नै निर्वाचनबाट सजाय दिने तर्क गरेका थिए। साथै अन्य सिफारिसकर्तालाई महाअभियोग लगाउन सकिने उनको सुझाव थियो।
