PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

माधव नेपालको प्रश्न : केपी ‌ओलीले फ्यालेर फ्यालिने मान्छे हौं हामी?



पहिलोपोस्ट

माधव नेपालको प्रश्न : केपी ‌ओलीले फ्यालेर फ्यालिने मान्छे हौं हामी?

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टी अध्यक्ष केपी शर्मा ओलीले फ्यालेर फ्यालिने नेता नभएको दावी गरेका छन्।

नेकपा एमालेभित्र समानान्तर गतिविधि गर्न थालेपछि निलम्बनमा परेका वरिष्ठ नेता नेपालले आज काठमाडौं जिल्ला कमिटी घोषणा गर्दै नेकपा एमाले आफ्नो मूल पार्टी रहेको दावी गरे।

ओलीसँग अब मिल्ने कुनै अवस्था नरहेको भन्दै उनले कानुनले छुट्टै पार्टी खोल्न नदिए विकल्प खोज्ने समेत बताए।

'कानुनले नदिए विकल्प खोजौला। विचार मिल्छ। मूल पार्टी यही हो,' नेता नेपालले भने, 'केपी ओलीले पर्टी नै कब्जा गरे भने छुट्टै कुरा हो।' नेता नेपालले आफूभन्दा तलका नेता तथा कार्यकर्ता पार्टी अध्यक्ष विरुद्ध चर्कोरुपमा उत्रिरहेको पनि बताए। 

'केपी ओलीले फालेर फालिने मान्छे हौं? केपी ओलीले ल्याएर आएका हौं?,' नेता नेपालले भने, 'कसैले प्रधानमन्त्रीको फुर्ती लगाउँछ भने त्यसको कुनै काम छैन।' 

संख्यात्मक हिसाबले पनि नेपालले आफ्नो समूह संगठनभित्रको हिसाबले कमजोर नरहेको दावी पनि गरे। 'वामदेव र हामी एकै ठाउँमा उभिँदैछौं, केन्द्रीय कमिटीमा हामी ९७ जना हुँदैछौं।' 

नेपालले आफूहरुलाई कारवाही गरेपनि मूल पार्टी आफ्नै समूह रहेको बताउँदैं ओलीले पार्टी नभइ गुट संचालन गरिरहेको बताए।

'ओली दलाल पुँजीवादको साथमा छन्। यहाँ पदको तानातन होइन विचारको लडाइँ हो' नेपालले भने।

सिद्धान्तलाई नयाँ विश्लेषण गरेर अगाडि बढ्ने भन्दै उनले महाधिवेशनका आधारमा अघि बढने भए छलफल गर्न आउन आह्वान समेत गरे।

नेता नेपालले काठमाडौं जिल्ला कमिटीमा अध्यक्ष केपी ओलीले चरम गुटबन्दी गरेको आरोप समेत लगाए। 'केपी ओलीले जालझेल गरेर जिते, मलाई सम्झना छ। केपी ओलीका केही मानिसलाई मैले नै संरक्षण दिएको थिएँ,' उनले भने। ती व्यक्तिलाई ओली गुटले पाखा लगाएको नेपालको आरोप थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell