काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेतका अब्दुला अल्मुटाइरीलाई नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकको रुपमा नियुक्त गरेको छ।
एन्फाले आइतबार पत्रकार सम्मेलन गर्दै अल्मुटाइरीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिने घोषणा गरेको हो। एन्फाले कतार फुटबल एसोसिएसनलाई प्रो लाइसेन्सप्राप्त प्रशिक्षक पठाउन अनुरोध गरेपछि अल्मुटाइरी नेपाल आएका हुन्।
यसअघिका स्वीडिस प्रशिक्षक योहान कालिनले राजीनामा दिएसँगै बालगोपाल महर्जनले राष्ट्रिय टोलीलाई प्रशिक्षण दिँदै आएका थिए। काठमाडौंमा सम्पन्न थ्री नेशन्स कपमा नेपाललाई उपाधि दिलाएका प्रशिक्षक बालगोपाल महर्जनलाई प्रतिस्थापन गर्दै अल्मुटाइरी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो। उनीसँग कुवेत र साउदी अरेबियामा क्लबहरुलाई प्रशिक्षण गराएको तथा कीर्गिस्तानको यू १७ टोलीलाई प्रशिक्षण गराएको अनुभव छ।
'मैले यहाँ कामलाई चुनौतीका रुपमा लिनपाउँदा एकदमै खुशी छु। आशा छ , म नेपाली फुटबल समर्थकलाई खुशी बनाउने छु।' उनले भने।
नवनियुक्त प्रशिक्षक अल्मुटाइरीले नेपाल थ्री नेशसन्स कपमा उचालेको उपाधिले नेपाली समर्थक धेरै खुसी दिएजस्तै आगामी दिनमा नेपाली समर्थलाई खुसी दिलाउनका लागि मिहिनेत गर्ने बताए। आइतबार नियुक्ती पाएका ४० वर्षे अल्मुटाइरीले नेपाली टोलीलाई कम्तीमा एक वर्षका लागि नेपाली टिम हेर्नेछन्।
यस समय अवधिमा कम्तीमा विश्वकप छनोट र साफ च्याम्पियनसिपमा नेपाली टिमको नेतृत्व लिनेछन। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले राष्ट्रिय टिमका प्रशिक्षक हुन प्रो–लाइसेन्स अनिवार्य गरेपछि एन्फाले अल्मुटाइरीलाई मुख्य प्रशिक्षकका रुपमा भित्र्याएको हो। नेपाल आएका अल्मुटाइरीले नेपाली फुटबललाई दक्षिण एसियामा बलियो बनाउन आफूले सक्दो मिहिनेत गर्ने बताए।
