काठमाडौं : नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्यले गुटले ध्वस्त भएको काठमाडौंमा नयाँ कमिटी आएको भन्दै शुभकामना दिएकी छिन्। एमालेको माधव नेपाल पक्षले आज काठमाडौं जिल्ला कमिटी घोषणा गरेको छ।
शाक्यले काठमाडौंमा संगठन कसरी ब्यापक बनाउने भनेर छुट्टै योजना बनाउने समेत बताइन्।
उनले भनिन्, ‘काठमाडौं संगठनका हिसाबले छिया-छिया, धुजा-धुजा भएको छ। अल्छि गर्ने हो भने जितिन्न। संगठन निर्माण गर्ने वडा तहसम्म अर्को वैचारिक हिसावले अगाडि बढ्नुपर्छ। हाम्रो पंक्ती आचरण युक्त हुनुपर्छ।’
अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टीलाई छिन्न भिन्न बनाएको आरोप लगाउँदै शाक्यले ओली कहिल्यै वैचारिक छलफल गर्न सहमत नभएको बताइन्। ओली विचार शुन्य मान्छे भएको समेत उनको आरोप छ। ओलीले जसरी हुन्छ अन्यौल बनाउने काम गरेको उनको भनाइ छ।
उनले भनिन्, ‘केपी ओलीसँग लडेर जित्छौँ भनेर मुखले भनेर हुँदैन। समाजवाद लक्ष्य बोकेको संविधान झण्डै सिध्याएका थिए। हामीले मात्र होइन जनताले पनि दुःख पाइरहेका छन्।’
ओलीलाई परास्त गर्नु पर्ने भन्दै उनले सगरमाथाको उचाइमा पुगेको कम्युनिस्ट आन्दोलनको झण्डालाई फेरि त्यहि ठाउँमा पुर्याउने बताइन्।
