PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

हेटौँडामा भूतपूर्व सैनिक सम्मेलन : विभिन्न योगदानका आधारमा २२ जना सम्मानित



निशा गुरुङ

हेटौँडामा भूतपूर्व सैनिक सम्मेलन : विभिन्न योगदानका आधारमा २२ जना सम्मानित

हेटौँडा : भूतपूर्व सैनिकहरुको हित, सेवा सुविधा र गुनासाहरुको सम्बन्धमा धारणा बनाउनका लागि गरिने भूतपूर्व सैनिक सम्मेलन प्रभावकारी हुने गरेको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाले गरिरहेका विभिन्न काम, कारबाहीको बारेमा अवकाश प्राप्त सैनिकहरुलाई जानकारी गराउने तथा भूपू सैनिक र उनीहरुका परिवारको हितका लागि भएका कार्यक्रमको जानकारी गराउने उद्देश्यका साथ भूपू सैनिक सम्मेलन गरिँदै आएको छ।

यसै सन्दर्भमा आइतवार हेटौँडाको पुरानो गोरख गणमा मध्यपृतना हेडक्वाटर अन्तर्गत नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ। सम्मेलनमा ८ जिल्लाका भूतपूर्व सैनिक तथा उनीहरुका परिवारको उपस्थिति रहेको थियो।

सम्मेलनमा भूपू सैनिकका आवश्यकताहरु पहिचान गरी नेपाली सेना कल्याणकारी बोर्डले सञ्चालन गर्ने विभिन्न योजना र कार्यक्रमहरुको नीति तय गर्ने नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले बताए। उनीहरुको गुनासो, पीर मर्का, राय र सुझाव संकलन गरी नीति निर्माण गरिने हुँदा सम्मेलन प्रभावकारी हुने गरेको थापाले बताएका थिए।

जेष्ठ भूतपूर्व सैनिक र जेष्ठ एकल महिलाप्रति अभिनन्दन

सम्मेलनमा जेष्ठ भूतपूर्व सैनिक तथा जेष्ठ एकल महिलालाई प्रधान सेनापति थापाबाट सम्मान तथा अभिनन्दन समेत गरिएको थियो। जसमा एकल महिलातर्फ हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ कमानेकी १०३ वर्षीया गोमा ढकाललार्ई अभिनन्दन गरिएको थियो। उनी स्वर्गीय अवकाश प्राप्त सेना नन्दप्रसाद पाल्याको धर्मपत्नि हुन्। त्यस्तै, पुरोनो गोरख गणबाट अवकाश प्राप्त पालुङका ९८ वर्षीय गजेन्द्र बहादुर कार्कीलाई समेत अभिनन्दन गरिएको थियो।

त्यस्तै, यस वर्षको भूपू सैनिक सम्मेलनमा एकै परिवारबाट ४ जना भन्दा बढी सन्तानले नेपाली सेनामा सेवा गरेका सैनिकका आमा-बुबालाई सम्मान पनि गरिने योजनासँगै धादिङकी ९० वर्षीया पुर्खा कुमारी सिलवाल सम्मानित भएकी छिन्। सिलवालका ४ जना अवकाश प्राप्त सन्तानहरु रहेको सम्मेलन मार्फत जनाइएको थियो।

त्यस्तै, नुवाकोटका ७५ वर्षीय भरमान डंगोल, ६० वर्षीय हुद्धम केप बहादुर थापा, ९४ वर्षीय पर्साका हर्क बहादुर राउत क्षेत्री, पर्साकै ७० वर्षीया विष्णुमाया पाण्डे, ६८ वर्षीया चितवनकी सन्चकुमारी गुरुङ, चितवनका चेतबहादुर खड्का, शिव बहादुर थापा, पूर्णबहादुर अधिकारी र धादिङका नरबहादुर थापा गरी नौ जना सम्मानित भएका हुन्। यी नौ जना अभिभावकका ४ वटै सन्तति सेनामा कार्यरत छन् त कोहि अवकाश प्राप्त गरिसकेका छन्।

व्हिल चेयर हस्तान्तरण

यस क्षेत्रमा फरक क्षमता भएका भूतपूर्व सैनिक र उनीहरुका हिताधिकारीहरुलाई व्हिल चेयर, बैसाखी नेपाल इन्भेष्टमेण्ट बैंकको आर्थिक सहयोगबाट प्रदान गरिएको थियो। जसमा पशुपति प्रसाद गणका सिपाही लिलत बहादुर थापा मगरका छोरा राजेश थापा मगरलाई व्हिल चेयर तथा पुरस्कार प्रदान गरिएको थियो। कालीप्रसाद गणका उप सेनानी नहेन्द्र बहादुर थापा क्षेत्रीका छोरी नानु थापा जो दुर्घटनामा परि पूर्ण अशक्त छिन्, उनलाई पनि प्रधानसेनापति थापाले व्हिल चेयर प्रदान गरेका थिए।

सर्वोत्कृष्ट उद्यमी र उत्कृष्ट उद्यमी व्यवसायी सम्मानित

यसै क्षेत्रमा लघुवित्त एवं महिला उद्यमशिल कर्जा कार्यक्रम मार्फत कर्जा लिई विभिन्न आयआर्जमूलक उद्यम व्यवसाय सञ्चालन गर्नेहरुमध्ये एक जना सर्वोत्कृष्ट र एक जना उत्कृष्ट उद्यमी व्यवसायीलाई प्रशंसापत्र पुरस्कार वितरण गरिएको थियो। जसमा नुवाकोट निवासी अवकास प्राप्त अमल्दार राजकुमार आचार्य सर्वोत्कृष्ट उद्यमी बन्न सफल भएका थिए। उनले आकुरा कुषी फर्म सञ्चालन गरिरहेका छन्। त्यस्तै, चितवनकी शुशिला न्यौपाने उत्कृष्ट उद्यमी बन्न सफल भएकी छिन्। न्यौपाने अवकाश प्राप्त टोकनाथ न्यौपानेकी पत्नी हुन्। उनले अहिले न्यौपाने कृषि एकिकृत फर्म सञ्चालन गरिरहेकी छिन्।

लघुवित्त र महिला उद्यमशिल कर्जा वितरण

कल्याणकारी कार्यक्रम मार्फत भूतपूर्व सैनिकहरु, आश्रित परिवार र बहालवाला सैनिक परिवारलाई स्वरोजगार बनाउने उद्देश्यले आर्थिक रुपले आत्मनिर्भर र स्वावलम्बी बनाउन नेपाली कल्याणकारी बोर्डले कर्जा कार्यक्रम सञ्चालन गर्दै आएको छ। नेपाल ईन्भेष्टमेण्ट बैंकसँगको सहकार्यमा बोर्डले कार्यक्रम सञ्चालन गर्दै आएको हो। जसमा लघुवित्त र महिला उद्यमशिल कर्जाको चेक हस्तान्तरण गर्ने गरिएको थियो।

सो कार्यक्रम अन्तर्गत चितवनकी भागरथी थापाले १५ लाख, मकवानपुरकी भावना शाहीले १५ लाख, चिवनकी अनिता मिश्रले १५ लाख, भिमकुमारी थापाले १५ लाख, दीपा बास्तोलाले सात लाख, असर मिया महतोले सात लाख बराबरको कर्जा रकम चेक मार्फत लिएका थिए। यी ६ जना महिलाले विभिन्न कृषि फर्म सञ्चालन गर्दै आइरहेका छन्।

सम्मेलनमा वाग्मती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल, नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत रथी गौरव तण्डुल (अवकाश प्राप्त), मध्य पृतना हेडक्वाटरका पृतनापति उपरथी अशोकराज सिग्देल क्षेत्री, कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी सागर बहादुर केसी, पत्रकार महासंघ वाग्मती प्रदेशका अध्यक्ष प्रताप विष्ट र भूपू सैनिकका वरिष्ठ उपाध्यक्ष केशरराज भण्डारी लगायतको उपस्थिति रहेको थियो।

नेपाली सेनाले नेपाली सेना सैनिक कल्याणकारी बोर्ड अन्तर्गत प्रत्येक प्रदेशमा कार्यालय खडा गरी सो क्षेत्रमा बसोबास गर्ने अवकास प्राप्त सैनिकहरुको तथ्यांक संकलन गर्दै आइरहेको छ। प्रत्येक जिल्लामा भूपू सैनिक फोकल पर्सन नै तोकेर जिल्ला भरिका अवकास प्राप्त सैनिकहरुसँग सम्पर्कमा रहने गरिएको छ। भूपू सैनिक सम्मेलनमा भूपू सैनिकहरुले शिक्षामा अहिले भइरहेको संरचनालाई विस्तार गरेर थप गर्दै लानुपर्ने सुझाव दिएका थिए।

त्यसैगरी, स्वास्थ्यको क्षेत्रमा सेवा, सुविधा, आवश्यकता तथा समस्याको बारेमा सुझाव दिनुका साथै स्वरोजगार बन्नको लागि तालिम र ऋण सहयोग लगायतको कुरामा माग गरिएको थियो। यसअघि भूतपूर्व सैनिक सम्मेलनमा आएका सुझावका आधारमा नेपालगञ्ज, इटहरी र पोखरामा ३ वटा क्षेत्रीय अस्पतालको निर्माण गरिएको तथा धनगढी र बर्दिवासमा पनि अस्पताल निर्माणको तयारी गरिएको जानकारी गराइएको थियो।

भूतपूर्व सैनिक सम्मेलनमा आउने पृष्ठपोषणको आधारमा आगामी दिनमा नयाँ कार्यक्रम बनाउने, नीति निर्माण गर्ने, सुविधा, सहुलियतहरुलाई परिमार्जन गर्ने र स्वीकृत गराएर कार्यान्वयन गर्ने काम गरिने बताइएको छ। नेपाली सेनाले गर्दै आएको भूतपूर्व सैनिक सम्मेलन केही समय रोकिएको थियो। २०७० साल असोजमा नेपाली सेना कल्याणकारी बोर्ड गठन भएपश्चात भूतपूर्व सैनिक सम्मेलनको निरन्तरता हुन थालेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell