PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

कर्णाली सरकारविरुद्ध एक भए ओली र नेपाल समूह, एमालेका मन्त्रीलाई राजीनामा दिने वातावरण बनाउन निर्देशन



पी बी खड्का

कर्णाली सरकारविरुद्ध एक भए ओली र नेपाल समूह, एमालेका मन्त्रीलाई राजीनामा दिने वातावरण बनाउन निर्देशन

सुर्खेत : दुई खेमामा विभाजित नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलको बैठक आज बसेको छ। आइतवार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र नेता माधव नेपाल समूहका सांसदहरु संयुक्त रुपमा संसदीय दलको बैठक बसेका हुन्।

गत असोजमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धमा अविश्वासको प्रस्ताव आएदेखि विभाजित एमाले कर्णालीका सांसद एक बनेका हुन्। एमालेबाट सरकारमा रहेका तीन मन्त्रीलाई राजीनामा दिने वातावरण बनाउन निर्देशन दिइएको छ।

‘एमालेबाट सरकारमा रहनुभएका तीनै जना मन्त्रीलाई २४ गते बस्ने दलको बैठक अगावै राजीनामा दिने वातावरण बनाउनुस् भनेका छौँ’, बैठकमा सहभागी एक सांसदले भने, ‘सोही अनुसार उहाँहरुले राजीनामा दिनुहुन्छ।’

संसदीय दलका नेता यामलाल कँडेलले समेत मुख्यमन्त्री शाहीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्।

‘दलको बैठक बसेर चैत ५ गतेदेखि लागू हुने गरी समर्थन फिर्ता लिएको अवस्थामा हो’, नेता कँडेलले भने, ‘बाँकी रहेका दलहरु मिल्दा पनि आवश्यक मत नपुग्ने देख्दा देख्दै पनि जुन विश्वासको लिन्छु भन्ने कुराले राजनीतिमा सकारात्मक सन्देश दिँदैन, मुख्यमन्त्रीले नै यी सांसद मेरा हुन् भनेका सबै उपस्थित भएर बसेको दलको बैठकले विनम्रता पूर्वक राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छौँ।’

उक्त दलको बैठकले एमालेको संसदीय दलको विधान मस्यौदा बनाउन कार्यदल बनाएको छ। प्रमुख सचेतक गुलावजंग शाहको संयोजकत्वमा तीन सदस्यीय मस्यौदा तयार गर्न कार्यदल बनाएको हो। समितिले आगामी २४ गते बस्ने संसदीय दलको बैठकमा मस्यौदा पेश गर्ने छ।

दलको बैठकमा सभामुख बाहेक सरकारमा रहेका नेपाल समूहका तीन मन्त्री सहित १९ सांसद सहभागी थिए। दलको बैठक आगामी चैत २४ गतेको लागि बोलाइएको छ। एमालेको विभाजित दुई खेमा एक भएसँगै माओवादी केन्द्रका मुख्यमन्त्री शाहीको सरकार थप संकटमा परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell