काठमाडौंः नेपाल खेलकुद महासंघ (नेकोस) ले केन्द्रीय कमिटी विस्तार गरेको छ। चैत २१ गतेको निर्णय सावर्जनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा कमिटी विस्तारबारे जानकारी गराइएको हो।
महासंघका अध्यक्ष पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले ३ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव र ७ सचिव थप गरिएको जानकारी गराए। उपाध्यक्षमा सर्लाहीका रेवती पन्त, काठमाडौंका उपेन्द्र पौडेल र ललितपुरका वीरेन्द्र श्रेष्ठ, महासचिवमा काभ्रेका धर्मकुमार श्रेष्ठ, उप–महासचिवमा सिन्धुपाल्चोकका बद्री अधिकारी र मोरङका रविन नगरकोटी रहेका छन्। यस्तै सचिवमा डडेल्धुराकी सकुन्तला नगरकोटी, ललितपुरका स्वयम्भूराज डंगोल, काठमाडौंका ईश्वर बिडारी, खोटाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष अर्जुनभक्त राई, धनुषाका प्रदीप यादव, दोलखाका रमेश शिवकोटी र दैलेखका मोहन शाही रहेका छन्। त्यस्तै १०३ सदस्य पनि चयन गरिएको छ।
बैठकले प्रदेशहरुको नेतृत्व र कार्यविभाजन गर्दै सातै प्रदेश र उपत्यकामा इन्चार्ज, सह-इन्चार्ज, अध्यक्ष र सचिव पनि तोकेको छ।
प्रदेश १ मा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव केशवकुमार विष्ट, प्रदेश २ मा महमद समिउल्लाह, वागमती प्रदेशमा बद्री अधिकारी, उपत्यकामा उपेन्द्र पौडेल, गण्डकी प्रदेशमा प्रेम गुरुङ, लुम्बिनी प्रदेशमा विनोद मैनाली, कर्णालीमा मोहन शाही र सुदूरपश्चिम प्रदेशमा हिक्मत थापालाई इन्चार्जको जिम्मेवारी दिइएको नेकोसका प्रचार विभाग प्रमुख स्वयम्भूराज डंगोलले जानकारी दिए।
बैठकले महासंघको विधान संशोधनको पनि निर्णय गरेको छ।
