काठमाडौं : प्रहरीले डेस्क स्थापना गरेर कोभिड १९ संक्रमणको जनचेतना कार्यक्रम सुरु गरेको छ।
आज महानगरीय प्रहरी परिसर काठमाडौं अन्तर्गत रहेका सबै वृत्तहरुमा डेस्क संचालन गरेर जनचेतना कार्यक्रमहरु संचालन गरिएको हो। काठमाडौंभित्र रहेका १४ वटा प्रहरी वृत्तले अब कोभिडको जनचेतना, मास्क वितरणदेखि स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड कार्यन्वयन नगरे कारबाही समेत गर्ने छ।
'कोही मास्क नलगाइ हिँडेका छन् भने उनीहरुलाई मास्क समेत दिन्छौं। तर, मास्क भएर पनि नलगाउने लाई भने कारबाही हुन्छ। पहिलो चरणमा सम्झाउन बुझाउने हो। दोस्रो चरणमा कारबाही हुन्छ। यो पहिलो चरण हो,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले भने।
दोस्रो चरणमा संक्रमण रोग ऐन २०२० लाई टेकेर कारबाही गर्ने प्रहरीले जानकारी दिएको छ। आजमात्र विभिन्न वृत्तमार्फत् १० हजार वटा मास्क वितरण गरेको एसएसपी सिंहले जानकारी दिए। त्यस्तै, सडकमा गुड्ने सार्वजनिक सवारी साधनमा पनि मापदण्ड अनुसार भए नभएको चेक समेत गरिएको छ।
'गाडीमा पनि मास्क नलगाई हिँड्न गरेको पाइएको छ। त्यसको पनि अनुगमन गर्ने छौं,' एसएसपी सिंहले भने।
पछिल्लो समय भारतमा कोभिड संक्रमितको सङ्ख्या बढेसँगै नेपालमा पनि यसको जोखिम बढेर गएको छ। अहिले दैनिक १ सय ५० जना भन्दा बढी कोभिड संक्रमित थपिरहेका छन्। पीसीआर परीक्षणको दर कम तर संक्रमितको सङ्ख्या उच्च दरले बृद्धि भएको देखिएको छ। काठमाडौंमा मात्र दैनिक ५० जना भन्दा बढीमा संक्रमण देखिएको छ।
नेपालमा कोभिड बढेसँगै स्थानीय प्रशासनले अनिवार्य मास्कको प्रयोग, कुनै पनि भिडभाड हुने सार्वजिक कार्यक्रहरु भेला, र्याली, मेला लगायत नगर्न निर्देशन दिएको छ।
