PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कांग्रेस सांसद भन्छन्, ‘ओली एमालेको अन्तिम प्रधानमन्त्री, विश्वासको मतबाट नभाग्नुस्’



पहिलोपोस्ट

कांग्रेस सांसद भन्छन्, ‘ओली एमालेको अन्तिम प्रधानमन्त्री, विश्वासको मतबाट नभाग्नुस्’

काठमाडौं : नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले केपी शर्मा ओली एमालेको अन्तिम प्रधानमन्त्री हुने चेतावनी दिएका छन्।

अघिल्लो निर्वाचनमा ओलीले पार्टी सभापति शेरबहादुर देउवालाई अन्तिम प्रधानमन्त्री भनेको स्मरण गर्दै कँडेलले पछिल्ला परिदृश्यले ओली एमालेको अन्तिम प्रधानमन्त्री हुने देखिएको बताए।

‘२०७४ को निर्वाचनमा हुँदा नेताहरु आमसभा सम्बोधन गर्न जिल्ला जिल्लामा थिए। एमाले अध्यक्ष ओली गोरखाको पालुङटारमा नेपालको इतिहासमा कांग्रेसको अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा हो भन्नुभयो। एउटा नेता र पार्टीको अध्यक्षको अभिव्यक्ति सुन्दा आफैंलाई लाज लाग्छ। त्यहीँ अभिव्यक्तिले गर्दा आज पार्टीमा आफैलाई साथ दिएका साथीहरुलाई पन्छाउँदै अघि बढिरहेका छन्,’ कँडेलले भने, ‘मर्ज भएका पार्टीलाई देखिसक्नु भएन। कुर्सीको मोहले जुन किसिमको पीडा छ कुनै हालतमा छोड्न नसक्ने। यदि गोरखामा जुन अभिव्यक्ति उहाँले दिनुभयो त्यहीँ शब्दमा हामीले भन्ने हो भने, यदि यस्तै रह्यो भने सायद एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै रहनेछन्। त्यसपछि रहने अवस्था हुँदैन।’

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कँडेलले विश्‍वासको मत लिन प्रधानमन्त्रीलाई आग्रह गरे। सर्वोच्चको फैसलाबाट दल विभाजन भइसकेपछि संविधानको धारा १०० (२) अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहेको स्मरण गराउँदै माओवादी केन्द्रले समर्थन फिर्ता लिएन भनेर पन्छिन नपाउने कँडेलको भनाइ छ।

सदनमा हिजो ७६ (१) को मान्यता पाएको सरकार सर्वोच्च फैसलासँगै पार्टी विभाजन भई (२) मा झरेको र धारा १०० (२) अनुसार प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत प्रस्तावका रुपमा राख्नुपर्नेमा आजै राख्नुपर्ने बताए।

‘म प्रश्न गर्न चाहन्छु। हिजो समर्थन लिएको होइन? विश्‍वासको मत लिएको होइन? हामी यो अवस्थामा अहिले एमालेलाई चिन्दैनौं। त्यसकारण मेरो आग्रह छ, अलिकति पनि उहाँमा मेरो पछाडि जनमत छ, संसदीय दल, सदनमा रहेका दलहरुकको समर्थन छ भने विश्वासको मत लिने कि नलिने वा उहाँ पन्छिन पाउनुहुन्न। विभाजित दलले समर्थन फिर्ता लिएन भन्न पाउनुहुन्न। दल विभाजन भइसकेको छ भने उहाँले आफ्नो समर्थनमा विश्वासको मत लिनैपर्छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell