PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

महाकालीमा नेपाली भूमिमा भारतले बनाइरहेको तटबन्धको दुवै देशको संयुक्त टोलीले अध्ययन गर्ने



पहिलोपोस्ट

महाकालीमा नेपाली भूमिमा भारतले बनाइरहेको तटबन्धको दुवै देशको संयुक्त टोलीले अध्ययन गर्ने

काठमाडौं : दार्चुलाको महाकाली नदी किनारमा भारतले बनाइरहेको तटबन्धनको नेपाल र भारतका नापी अधिकारीले स्थलगत अध्ययन गर्ने भएका छन्।

प्रतिनिधिसभामा सोमवार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अप्रिल १२ मा नेपाल र भारतका दुवै देशका नापी टोलीले त्यहाँ स्थलगत अध्ययन गर्ने तय भएको जानकारी गराएका हुन्।

अघिल्लो बैठकमा कांग्रेस सांसद दिलेन्द्र बडूले भारतले नेपाली भूमिमा एकतर्फी तटबन्ध बनाउँदा सरकार कहाँ छ भनेर प्रश्न गर्दै जवाफ मागेका थिए। आजको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतद्वारा निर्माण भइरहेको तटबन्धनको पुस २२ गते नापी विभागका प्रमुख नापी अधिकृतसहित परराष्ट्र मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी, जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रतिनिधिको टोली बनाएर स्थलगत अध्ययन गरेको जानकारी दिए।

‘अध्ययनबाट भारतीय पक्षबाट निर्माण भइरहेको सुरक्षा पर्खालको सन्दर्भममा वास्तविक रुपले दुई पक्षले नापजाँच गरी वास्तविकता पत्ता लगाउन सकिने भन्ने सुझाव अनुसार भारतसँग गम्भीरतापूर्वक कुराकानी गर्‍यौं,’ उनले भने, ‘विभिन्न पत्राचारहरु पछि यहीँ १२ अप्रिल नेपाल र भारतका दुवै देशका नापी टोलीले त्यहाँ स्थलगत अध्ययन गर्ने सहमति भयो।’

अध्ययनका क्रममा पर्खाल ठिक ढंगले बनेको छ कि छैन? अन्तर्राष्ट्रिय सीमाको सहि ढंगले सम्मान गरिएको छ कि छैन? भन्ने हेरिने र यसले तथ्य प्रमाणहरु अघि सार्ने बताउँदै मन्त्री ज्ञवालीले नेपालले आफ्नो अन्तर्राष्ट्रिय सीमाको सुरक्षा तदारुकताका साथ गर्ने र यसमा नेपाल सरकार सजग रहेको बताए।

महाकालीमा २०७० सालमा आएको बाढीले नेपालतिर कटानी गरेर धार परिवर्तन गरेपछि नेपाली भूमि पारीतिर परेको छ। जसमा भारतले नदीभित्र सम्म पसेर नेपाली भूमिमा तटबन्धन बनाइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell