PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

चौँथो वाग्मती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टारलाई



पहिलोपोस्ट

चौँथो वाग्मती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टारलाई

हेटौँडा : पहिलो हाफमा २ गोलले पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै रुस्लान थ्री स्टार क्लबले चौँथो वाग्मती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। थ्री स्टारले अफ्रिकन रुट्स एसोसिएसन (एआरए)लाई प्रतिस्पर्धात्मक खेलमा ३-२ ले हराउँदै च्याम्पियन बनेको हो।

इन्ज्युरी समयमा एनआरएका खेलाडीले बक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीलाई कप्तान रुपेश केसीले गोलमा परिणत गर्दै टोलीलाई जित दिलाएका थिए। प्रशिक्षक उज्जन श्रेष्ठले थ्री स्टारको प्रशिक्षकका रुपमा पहिलो प्रतियोगितामा नै उपाधि जितेका छन्। वाग्मती गोल्डकप खेल्नु अघि थ्री स्टारले उनलाई प्रशिक्षक नियुक्त गरेको थियो।

खेलको १२ औं मिनेटमा एमफोमले गोल गर्दै एनआरएलाई अग्रता दिलाएका थिए। २९ औं मिनेटमा मौसाले गोल गर्दै एनआरएको अग्रतालाई दोब्बर बनाए। पहिलो हाफमा केही कमजोर प्रदर्शन गरेको थ्री स्टारले दोस्रो हाफमा भने सानदार पुनरागमन गर्‍यो।

मनिष डाँगीले ५८ औं मिनेटमा गोल गर्दै ललितपुरे टोलीलाई खेलमा फर्काए। त्यसको तीन मिनेटपछि नै निशान खड्काले फ्रिकिकमा गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए। इन्ज्युरी समयमा अफ्रिकन डिफेन्डरले मनिष डाँगीको प्रहारलाई हातले रोकेपछि रेफ्री नविन्द्र महर्जनले पेनाल्टी दिए। उक्त पेनाल्टीलाई कप्तान रुपेश केसीले गोलमा परिणत गर्दै उपाधि दिलाए।

मकवानपुरको वाग्मती गाँउपालिका खेलकुद समितिले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधि सहित ८ लाख रुपैयाँ प्राप्त गरेको छ। थ्री स्टार अब पोखरामा जारी १९ औं आहा रारा गोल्ड कपमा भाग लिन त्यसतर्फ जानेछ। एआरए पनि आहा रारा गोल्डकपको सेमिफाइनल पुगिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell