विराटनगर : विराटनगरको स्मारिका बचत तथा ऋण सहकारी संस्थाले मिर्गौला पीडितलाई एक लाख एक रुपैयाँ हस्तान्तरण गरेको छ। विराटनगर महानगरपालिका-४ का वडा अध्यक्ष देवेन्द्रराज पोखरलले सोही वडाका मिर्गौला पीडित गोबिन्द पुरीलाई उक्त रकम हस्तान्तरण गरेका छन्।
तीन वर्षदेखि दुवै मिर्गौला खराब भई उपचार गराइरहेका पुरी हाल काठमाडौंमा बसी सातामा दुई पटक डायलासिस गर्न अस्पताल धाउने गर्छन्। दुई छोरालाई विराटनगरस्थित आफन्तकोमा छाडेका पुरी दम्पत्तीले घरबारी सबै बेचिसकेको बताएका छन्। सामान्य होटल चलाएर जिविकोपार्जन गर्दै आएका उनीहरु हाल मिर्गौला प्रत्यारोपणका लागि रकम जुटाउन सबैसँग आग्रह गरिरहेको पुरीले बताए।
‘मेरा ससुराबाले मिर्गौला दिने हुनुभएको छ डाक्टरले करिब ७ लाख रकम खर्च लाग्छ भन्नुभएको छ’, पुरीले भने, ‘यही सहकारीले दिने रकम लिन विराटनगर आएको भोलि नै फर्कन्छु बुधवार फेरी डायलसिस छ।’
राज्यले दिने सेवासुविधाका लागि वडा कार्यालयले गर्नुपर्ने सम्पूर्ण कागजी प्रकृयामा वडा कार्यालयले सहयोग गरेको वडा अध्यक्ष पोखरेलले बताए।
‘हामीले राज्यले दिने सुविधाका लागि वडाले गर्नुपर्ने सिफारिसमा सहयोग गरिसकेका छौँ’, वडा अध्यक्ष पोखरेलले भने, ‘आज सहकारीले रकम सहयोग गरेर उहाँलाई बचाउनका लागि महत्वपूर्ण पहल गरेको छ।’
स्मारिका सहकारीका सदस्य र स्थानीय भएको हुँदा उनको उपचारका लागि संस्थाले तत्काल निर्णय गरी रकम उपलब्ध गराएको संस्थाका सचिव अर्जुन चुँडालको भनाइ छ।
‘उहाँ संस्था कै एक सदस्य जसले आफ्नो जे जति भएको सबै सम्पत्ति उपचारमै सक्नुभयो’, उनले भने, ‘त्यसैले मिर्गौला प्रत्यारोपणका लागि हामीले तत्काल निर्णय गरी रकम उपलब्ध गराएका हौँ।’
