काठमाडौं : नेकपा माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका नेताहरुमाथि कारवाही गर्ने तयारी गरेको छ। गृह मन्त्री रामबहादुर थापा बादल, उद्योग मन्त्री लेखराज भट्ट, पर्यटन मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह र श्रम मन्त्री गौरीशंकर चौधरीलाई कारवाहीको तयारी भएको माओवादी स्रोतले जनाएको छ।
पार्टीले सोधेको स्पष्टिकरण कतिपयले नदिएको र दिएका नेताले पनि चित्तबुझ्दो नभएको भन्दै कारवाही प्रक्रिया अघि बढाउन थालिएको हो।
'अहिले तत्कालका लागि ५ जनामाथि कारवाही हुन्छ। त्यसपछि अरुमाथि पनि कारवाहीको प्रक्रिया अगाडि बढ्ने छ। स्पष्टिकरण सोधेका मध्ये केहीले जवाफ पठाएका छन् भने कतिपयले जवाफ नै दिएका छैनन,' स्रोतले भन्यो।
माओवादी केन्द्रले पार्टीको विधान उल्लंघन गरेको भन्दै केन्द्रीय कमिटी सदस्यबाट निष्काशन गर्नुका साथै सांसद पदबाट हटाउने तयारी थालेको हो।
यस अघि माओवादी केन्द्रले २४ घण्टे स्पष्टिकरण सोध्दै आफ्नो पार्टीमा फर्कन ओली समूहमा लागेका बादलसहित २३ जना नेतालाई आग्रह गरेको थियो।
पार्टीको आग्रहलाई वेवास्ता गर्दै प्रधानमन्त्री केपी ओलीलाई नै साथ दिइरहेका माओवादीका नेताहरुले माओवादी छोड्ने घोषणा गरेका थिए भने ओलीले फागुन ७ गते केन्द्रीय कमिटीमा उनीहरुलाई मनोनयन गरेका थिए। राजनीतिक दलसम्बन्धि ऐन २०७३ अनुसार माओवादीको संसदीय दलले एमालेमा लागेका मन्त्रीहरुलाई कारवाही गर्न थालेको हो।
यससँगै उनीहरुले आफू निर्वाचित भएको दल त्याग गरेकाले पार्टीले विधान अनुसार कारवाही अगाडि बढाए उनीहरुको सांसद पद जाने छ। पार्टीले कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाएर संसदलाई जानकारी गराएपछि सांसदको पद रिक्त हुने छ।
फागुन २३ गते सर्वोच्च अदालतले एमाले माओवादीलाई अलग गराए पनि माओवादी केन्द्रले हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। समर्थन फिर्ता लिने तयारी भएको भए पनि ओली बिरुद्धको गठबन्धन बनिनसकेकाले फिर्ता लिन असहज भएको माओवादी केन्द्रका नेताहरुको भनाई छ।
