PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कर्णालीमा माधव समूहका मन्त्रीको राजीनामा : दलभित्रै संघर्ष गर्ने, गाडी छोडेर हिँडेरै पुगे संसदीय दलको बैठकमा



पी बी खड्का

कर्णालीमा माधव समूहका मन्त्रीको राजीनामा : दलभित्रै संघर्ष गर्ने, गाडी छोडेर हिँडेरै पुगे संसदीय दलको बैठकमा

सुर्खेत : नेकपा एमालेको माधव नेपाल समूहका तीन जना मन्त्रीले माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारबाट राजीनामा दिएका छन्। आइतवार एमाले प्रदेश संसदीय दल बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने र मन्त्री फिर्ता बोलाउने निर्णय गरेपछि उनीहरुले राजीनामा दिएका हुन्।

राजीनामा दिनेमा आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा रहेका छन्। राजीनामा पछि पत्रकार सम्मेलनमा उनीहरुले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको अवस्थामा आफूहरु सरकारमै रहिरहन नमिल्ने भन्दै राजीनामा दिएको बताए। आफ्ना केही अडानहरु रहेको भन्दै छलफल, बहस आफ्नै दलभित्र गर्ने आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले बताए। पार्टीभित्रै बसेर संघर्ष गर्ने उनीहरुको निष्कर्ष छ।

राजीनामापछि आजै बस्ने एमाले प्रदेश कमिटी संसदीय दलको बैठकमा सहभागी हुन मन्त्री हिँडेर गएका छन्। राजीनामा दिएपछि मन्त्री हुँदा पाएका सम्पूर्ण सुविधा सुरक्षाकर्मी, गाडी र आवास आजैबाट नलिने घोषणा गरेपछि उनीहरु हिडेरै नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी बनेका हुन्।

राजीनामा दिनुअघि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीनै जना मन्त्रीलाई बोलाएर आधा घण्टा मन्त्रीपरिषद्को बैठक बसेको थियो। सोही समयमा मुख्यमन्त्री शाहीसमक्ष राजीनामा पत्र बुझाएका हुन्।

४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका मात्रै २० सांसद छन्। एमाले प्रवेश गरेपछि एक जना धर्मराज रेग्मीलाई माओवादी केन्द्रले पदबाट मुक्त गर्दा प्रदेशमा कुल ३९ सांसद छन्। कांग्रेसका ६ र राप्रपाका एकजना सांसद छन्।

पार्टीको एकल बहुमत पुग्ने भएकाले एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउने तयारीस्वरुप सरकारका मन्त्री फिर्ता बोलाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell