PahiloPost

May 15, 2026 | १ जेठ २०८३

पीएसजीसँग बायर्न पराजित, एम्बाप्पेको दोहोरो गोल



पहिलोपोस्ट

पीएसजीसँग बायर्न पराजित, एम्बाप्पेको दोहोरो गोल

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब बायर्न म्युनिखमाथि जित निकालेको छ। एलिनाज एरेनामा सम्पन्न क्वाटरफाइनल अन्तर्गतको पहिलो लेगको खेलमा घरेलु टोली बायर्नमाथि पीएसजीले ३-२ गोलअन्तरले जित निकालेको हो।

पीएसजीको जितमा किलियन एम्बाप्पेले दोहोरो गोल गर्दा मार्क्विन्होसले एक गोल गरे।

खेलको तेस्रो मिनेटमै नेइमारको पासमा एम्बाप्पेले गोल गर्दै अग्रता दिलाए। त्यस्तै मार्किन्होसले २८ औं मिनेटमा दोस्रो गोल थपे। उता बायर्नका लागि एरिक म्याक्सिम चौपो मोटिङले ३७ औं मिनेटमा गोल फर्काए। पहिलो हाफमै पीएसजी २-१ ले अघि रह्यो।

दोस्रो हाफमा थोमस मुलरले जोसुवा किममिचको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए। उनले खेलको ६० औं मिनेटमा बायर्नलाई बराबरीमा ल्याए पनि एम्बाप्पेले त्यसको ६ मिनेटमै पीएसजीलाई अग्रता दिलाए। र, पीएसजीले ३-२ गोलअन्तरले जित निकाल्यो। बायर्न र पीएसजी अघिल्लो सिजनको च्याम्पियन्स लिगको विजेता र उपविजेता हुन्।

दोस्रो लेगको खेलमा यी टोली पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा अप्रिल १४ मा भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell