PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारत इन्धन तस्करी गर्ने गिरोह पक्राउ, तेल कारोबारमा संलग्न पेट्रोल पम्प पनि कारवाहीमा



पहिलोपोस्ट

भारत इन्धन तस्करी गर्ने गिरोह पक्राउ, तेल कारोबारमा संलग्न पेट्रोल पम्प पनि कारवाहीमा

वीरगंजः जिल्ला प्रहरी कार्यालय पर्साले पेट्रोलियम पदार्थ तस्करी गर्ने तीन जना भारतीयसहित १० जनालाई पक्राउ गरेको छ।

पर्सा जिल्लाका आयल स्टोरहरूको मिलोमतोमा तस्करहरूले पेट्रोलियम भारततर्फ तस्करी गर्ने गरेको सुचनाको आधारमा प्रहरीले विभिन्न समयमा पेट्रोल पम्पमा छापा मारेर १० जनालाई पक्राउ गरेको हो।

चैत १७ गते इलाका प्रहरी कार्यालय पोखरियाले धोबिनी गाउँपालिका–५ लंगडीस्थित इस्लाम आयल स्टोरबाट भारततर्फ तस्करी गर्न लागेको ८० लिटर डिजल नियन्त्रणमा लिएको थियो। त्यस्तै चैत २० गते इप्रका पोखरियाले जगरनाथपुर गापा–२ जानकीटोलाबाट १६० लिटर डिजल तस्करी गर्ने क्रममा नियन्त्रणमा लिएको थियो भने तस्कर भारततर्फ फरार भएको प्रहरीले जनाएको छ। डिजेल बिस्मिल्लाह आयल स्टोरको मिलोमतोमा तस्करी भएको इप्रका पोखरियाले जनाएको छ।

चैत २४ गते पर्साको जगरनाथपुर गाउँपालिका–२ स्थित बिसमिल्लाह आयल स्टोरबाट भारतीय नम्बरको ५ वटा मोटरसाइकल र एउटा नेपाली नम्बरको मोटरसाइकलमा डिजेल लोड गरिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यस्तै चैत २४ गते वीरगंज महानगर–१९ बर्वास्थित तिवारी आयल स्टोरबाट पेट्रोलियम पदार्थ तस्करी गर्ने तीनजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले तीन वटा साइकलमा लोड गरेको २८० लिटर डिजेल र २० लिटर पेट्रोल नियन्त्रणमा लिएको प्रहीले जनाएको छ।

प्रहरीले पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा भारत, मोतीहारी, पूर्वी चम्पारण, भेलाही–१४ निवासी मनोज गुप्ता, इदरिश मिया, प्रिन्स साह, जगरनाथपुर गापा–२ निवासी सागिर आलम, रविकुमार साह, मुनी साह तेली, जालीम गद्दी, राजकुमार कुर्मी, आशमहम्मद राउत गद्दीलाई पक्राउ गरी तेल तस्करी सम्बन्धी कसुरमा कारबाईको लागि मगलवार वीरगंज भन्सारमा बुझाएको प्रहरीले जनाएको छ।

पर्साको सीमावर्ती क्षेत्रमा पेट्रोलियम पदार्थको अवैध तस्करीमा संलग्न इस्लाम आयल स्टोर, बिसमिल्लाह आयल स्टोर र तिवारी आयल स्टोरलाई कारवाही गर्न नेपाल आयल निगम २ नंम्बर प्रादेशिक कार्यालय अमलेखगंजमा जानकारी गराएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell