PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फाइनल भिडन्तलाई सहज पार्न हार, प्रशिक्षक र कप्तान भन्छन् : मिलेमतो होइन, रणनीति



मुकुन्द घिमिरे

फाइनल भिडन्तलाई सहज पार्न हार, प्रशिक्षक र कप्तान भन्छन् : मिलेमतो होइन, रणनीति

काठमाडौं: बुधवार सम्पन्न आरबीबी एनभीए नेशनल वुमन/मेन क्लब च्याम्पियनसिपमा एपीएफले हेल्प नेपाललाई ३-० को सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गर्‍यो। तर आज बिहीवार त्यही एपीएफलाई फाइनलमा ३-० को सोझो सेटमै हराउँदै हेल्प नेपाल च्याम्पियन भयो।

एपीएफसँगको खेलको नतिजालाई लिएर हेल्प नेपालको आलोचनासमेत भएको छ- मिलेमतोको।

बुधवारको खेलमा हेल्प नेपालले विदेशी खेलाडी लगायत पहिलो रोजाइका खेलाडी नउतारेर दोस्रो रोजाइका खेलाडीहरु मात्र खेलमा उतारेको थियो। यदि त्यो खेलमा हेल्प नेपालले जितेको थियो भने आजको फाइनलमा प्रतिस्पर्धी टिम हुने थियो विदेशी खेलाडी सम्मिलित बुलबुले रारा क्लब।

त्यसैले सहज प्रतिद्वन्दी एपीएफलाई पाउन हेल्प नेपाल पराजित भएको भन्दै साँझ राखेपको कभर्डहल बाहिर माहोल तातेको थियो र कभर्ड हल भित्र पनि।

बुधवारको खेलमा एपीएफसँग सोझो सेटमा पराजित हेल्प नेपालले बिहीवारको फाइनल खेलमा एपीएफलाई नै सोझो सेटमा हरायो। खेलपछि हेल्प नेपालका प्रशिक्षक र कप्तानले आफूहरुले रणनीति अनुरुप नै खेलेको बताए।

'सोझो सेटमै जित्यौं। गेम राम्रो भयो। सहज पनि भयो,' प्रशिक्षक रमेश केसीले भने, 'हिजोको रणनीति नै त्यस्तै थियो। एपीएफ भन्दा बुलबुले अलि राम्रो टिम भएकाले एपीएफ नै फाइनलमा पर्दा सजिलो होला भन्ने थियो।'

प्रशिक्षक केसी

उनले मिलेमतोको कुरा भने अस्वीकार गर्छन्। 'जानीजानी भन्दा पनि रेस्टमा रहेका खेलाडीलाई कोर्टमा उत्रने मौका पनि दिनु थियो। विदेशी खेलाडीहरुले रेगुलर सात दिनसम्म खेलिरहनु भएको छ। वहाँहरुलाई रेस्ट पनि चाहिएको थियो,' उनले भने, 'नेपाली खेलाडी कोर्टमा उत्रने पनि अवसर थियो। विदेशी खेलाडीलाई फाइनलमा साँचेर राखेको हो।' बुधवारको खेल खेलको निमयानुसार रणनीतिक खेल भएको उनले दाबीसमेत गरे।

'यो खेलमा नियम अनुसार रणनीति बनाउन त पाइन्छ नै। नियम विपरित केही गरेका छैनौँ। हामीले कसैको पनि जिम्मा लिएका छैनौ की हाम्रो आधारले कुनै टिम फाइनलमा पुगोस्,' प्रशिक्षक केसीले भने, 'आफू विजेता भएर पो फाइनलमा आइपुग्नुपर्ने हो त?  होइन र? मेरो विचारमा त अरुसँग निर्भर नभइ आफ्नै खुबीले आइपुग्नुपर्ने हो। त्यस्तो भइदिने हो भने अरु कुनै टोलीलाई आरोप प्रत्यारोप लगाउनुपर्ने आवश्यकता नै रहने थिएन।'

उनले बुधवारको खेलपछि आएका आलोचनाहरुले दु:खी बनाएको बताए। 'ब्याक टु ब्याक दुइटा ट्रफी जिताउन पाउँदा त खुशी लागेको छ तर अहिले हिजोको खेलमा जस्तो कमेन्टहरु आए नि त्यो देखि धेरै नै दुखी छु,' उनले भने, 'जिल्ला, प्रदेश भलिबलका लागि धेरै गरेको मान्छे हुँ। जसले त्यति नराम्रो कमेन्टहरु गर्नुभयो नि उहाँहरुले अहिलेसम्म प्रदेश खेलाडीको लागि भनेर एउटा चकलेटसम्म पनि दिनुभएको थिएन।'

उनले प्रदेश भलिबलले एउटा जर्सीसमेत नदिएको टिप्पणी गरे। उनले टिमको कोच हायरमा आएको भन्दै सबै आफ्नो निर्णय पनि नचल्ने बताए।

उता हेल्प नेपालका कप्तान अमृत केसीले आफूहरुले जित्नकै लागि खेलको दाबी गरे। 'खेलमा सबैले जित्नकै लागि भनेर खेलेको हुन्छ। हामीले सबैलाई जित्दै गएको हो र हामीले फाइनलमा स्थान पनि बनाइसकेका थियौं,' उनले भने, 'अरु टिमका लागि फाइनलमा किन रिस्क लिने भन्ने रणनीति हामीले बनायौं।'

उनले फाइनलमा एपीएफसँग भिड्दा सहज हुने अवस्था रहे त्यहीँ अनुरुप  गर्ने सल्लाह अनुरुप खेल खेलिएको बताए।

क्याप्टेन केसी।

'कोच, म्यानेजर र खेलाडी सबैले के रणनीति बनायौँ भने फाइनलमा यदि उनीहरु आउँदा सजिलो हुन्छ भने किन गाह्रो टिमसँग प्रतिस्पर्धा गर्ने?' उनले थप प्रश्न गरे, 'जानी जानी कसले आफ्नै खुट्टामा बञ्चरो कसले हान्छ? हान्नु भएन नि। उनीहरु पनि जित्नकै लागि भनेर खेलेका छन्। हामी पनि जित्नकै लागि भनेर खेलेका छौं। हामीले यदि हिजो तीन सेटमै हराइदिएर अर्को कुनै राम्रो टिम फाइनलमा आएर हामीले फाइनलमा हारेको भए त हामीले आफ्नै खुट्टामा बञ्चरो हानेको हुने थियो नि?'

सोही रणनीति अनुरुप फाइनलमा सजिलो होस् भनेर विदेशी खेलाडीहरुलाई रेस्ट दिएको उनले बताए। 'यदि खेलमा चोट बोकेर फाइनलमा खेल्न नसकेको भए कुरा अर्कै हुन्थ्यो नि त। त्यसैले उनीहरुलाई रेस्ट दिएर नयाँ प्लेयरहरुलाई मौका दिएर खेलेको हो,' उनले भने, 'ब्याक भएको होइन। हामीले सबैलाई जितेरै आएका थियौं। हामी किन ब्याक हुने? हामी त फाइनलका लागि सहज तरिकाले च्याम्पियन बन्नका लागि रणनीति बनाएका हौं।'

कप्तान केसीले अहिले आएका आलोचनाहरु हारेका टिमले गरेको बताए। 'सबै टिमले  हारेपछि सबै कुरा निस्कन्छ। जितेर यस्तो कुरा कसैले भन्दैन। हारेको टीमले यस्तो कुरा गर्छ नै। हेल्प नेपालको स्थानमा अर्को कुनै टिम हुन्थ्यो भने पनि रणनीति त्यस्तै नै बनाउने थियो,' उनले भने।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell