PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

प्रधानमन्त्री ज्यू, बालुवाटारबाट यो के तमासा हो? तीन वर्ष अगाडि बनेको पुल उद्घाटन, ठेक्का नलागेको डाइभर्सन शिलान्यास!



पहिलोपोस्ट

प्रधानमन्त्री ज्यू, बालुवाटारबाट यो के तमासा हो? तीन वर्ष अगाडि बनेको पुल उद्घाटन, ठेक्का नलागेको डाइभर्सन शिलान्यास!

  • गगन थापा-

प्रधानमन्त्रीलाई बाटो पुल शिलान्याश र उद्घाटन गर्न भ्याई नभ्याई छ। यति धेरै विकास कहिल्यै भएको थिएन भनेर लागिरहेको छ। प्रधानमन्त्रीलाई यो चमत्कार किन लागिरहेको छ? दुईटा कारण छ। एउटा वास्तविकता के छ भन्ने प्रधानमन्त्रीलाई थाहा छैन। चरम अल्पज्ञान छ वा झाँक्री बाधेर आएको छ। विकृत असत्य भएको छ। यी दुइटै विषय राष्ट्रका लागि हानिकारक छ।

२०७४ फागुन ३ गते प्रधानमन्त्री आए। चैत २ गते खानेपानी मन्त्री आए। चैत २९ गते अर्थात ५७ दिनपछि मेलम्चीको टनेल सुरुङ छिचोलेर उपराष्ट्रपतिले उद्घाटन गरेर, रिबन काटेर लड्डु बाड्नुभयो। प्रधानमन्त्रीले यो सदनको रोष्टममा उभिएर भन्नुभयो, २०७५ साल असोजसम्म मेलम्चीको पानी आउँछ। त्यसपछाडि पनि साढे २ वर्ष लाग्यो। प्रधानमन्त्री-मन्त्री कुरा मिलेन। ठेकेदारसँग मोलमोलाई मिलेन। साढे दुई वर्ष लाग्यो। डेढ अर्ब अनावश्यक खर्च भयो । ५७ दिनमा चमत्कार भएको थिएन।

पहिलेदेखि काम भएको थियो। बढी काम र लागत लाग्दा जनतासँग माफी माग्नुपर्ने होइन? जस लिन होडबाजी? ढिलो पानी आयो गल्ती भयो, अबका योजनामा त्यस्तो हुँदैन भन्नुपर्ने बेला कहिले धारा खोलेर, बाल्टिन थापेर कहिले उठेर बसेर उद्घाटन गरेको छ, तमासा गरेको छ।

२०६३ सालमा सुरु भएको तामाकोशी २०७० मा सक्नुपर्ने भूकम्पले केहीँ ढिला भयो ०७५ मा सक्नुपर्ने अर्को वर्ष वैशाख भनिएको छ। अब हेर्नुहोला त्यहाँ पनि मेलम्चीजस्तै तमासा हुन्छ। फास्ट ट्रयाक, बुढिगण्डकी, पश्चिम सेती, बबई सिक्टा सिँचाइ राष्ट्रिय आयोजनाहरु वर्षौ देखि थला परेका छन्। कोही भन्दैन्। वर्षौदेखि थला परेका छन् किनकि संस्थागत आधारभूत समस्या छन्। मोडालिटी स्रोत, सम्बन्ध, कानुन, शैलीमा समस्या छ। यसलाई बदलौ।

प्रधानमन्त्रीको नेतृत्वबाट अपेक्षा त यसलाई बदल्नेमा हुनुपर्ने हो। यसलाई बदलेपछि परिणाम बदलिन्छ नि। नयाँ कुरा हुन्छ नि। गर्नुपर्ने काम गरेको छैन। मिथ्यांक ल्याएको छ। अनि गफ चुटेको छ। बसेको छ। यो भयो भनेको छ, त्यो भयो भनेको छ।

हुँदा हुँदा निर्माणसहित सकिएर दुई वर्ष अगाडि सुरु भएको पुल उद्घाटन गरेको छ। चालु भएको दुई वर्ष भइसक्यो सिन्धुलीको पुल। हुँदा हुँदा ठेक्का लागेको छैन सुनकोशी मरिन डाइभर्सनको शिलान्यास गरेको छ। बिच बाटोमा पुगिसकेको कामको शिलान्यास गरेको छ। उद्घाटन भएर काम सुरु भएर प्रयोगमा आएको दुई वर्षपछि बल्ल उद्घाटन गरेको छ। शिलान्यास गरेको छ। चार्ज सवस्टेशन आएको कहिले, अस्ती गएर बटन थिचेको छ। यो के को तमासा हो?

अझ अस्ती भर्खर १६५ वटा बटन च्याट्ट थिचेर सडक उद्घाटन! कति सजिलो छ। पैसा ३ अर्ब छ। लाग्छ ५७ अर्ब। डिजाइन छैन। पैसा छैन। केही नचाहिने? वर्षको ८/९ किलोमिटर बनाउने सडक विभागले अब २२/२३ सय किलोमिटर सडक थप्नका निम्ति संस्थागत क्षमता कहाँ बढाउने त्यसको हिसाबकिताब केही पनि गर्न नपर्ने? त्यो भए किन १६५ मात्रै एउटा निर्वाचन क्षेत्रमा १० वटा ठोक्दिउ। एकैपटक १६ सय ५० वटा यतिको बहादुर प्रधानमन्त्री भएको बेला ठोके भइहाल्यो।

प्रधानमन्त्रीले दिनको १० किलोमिटर सडक बन्यो भनिरहेका छन्। क्यालकुलेटर ल्याएर हिसाब गरौं न ३ किलोमिटर मात्रै बनिरहेको छ। ६ किलोमिटर पनि बनेको छैन। दिनमा १२/१३ वटा पुल बने भनेको छ। पहिला कतिवटा बनेको छ हिसाब गरौं न। कहिलेबाट सुरु भयो? हिसाब गरौं न।  

हाम्रो पूर्वाधार निर्माणमा समस्या छ। अहिलेको सरकारले मात्रै गरेको भन्दिन। माननीय मन्त्रीजीले कोसिस गरिरहनुभएको छ। तर भइरहेको छैन। किनकि आधारभूत समस्याहरु छन्। नियम कानुनमा समस्या छ। काम गर्ने निकाय, निर्माण व्यवसायीको क्षमतामा छ। स्रोत र समन्वयमा छ। यी तमाम समस्यालाई सम्बोधन गरेमात्रै हाम्रो अवस्था बदलिन्छ। अवस्था बदल्न दर्जनौ कानुन यहीँ संसदले बनाउनुपर्छ। बजेटको बेला ध्यान दिएर छलफल गर्नुपर्नेछ। खल्तीबाट आयोजना छान्ने कुरालाई बदल्नुपर्ने छ।

नेताले आयोजना छान्ने, कर्मचारीले विकास गर्ने, निर्माण व्यसायीले गरिदिन्छ भनेर बसेर हुँदैन। यसमा काम गरौं न। यसमा प्रधानमन्त्रीलाई रुची छ काम गर्न? हामी काम गर्न तयार छौं । होइन भने जुन काम जुन तरिकाले गरिरहेका छौं त्यहीँ तरिकाले गर्दा परिणाम आउँदैन। मैले यहाँ उभिएर कुनै कुण्ठा पोखेको होइन। यो नेपाल सरकारको पुस्तकमा टेकेर बहस गर्न तयार छु। तथ्य र तथ्यांकमा बसेर बहस गर्नका निम्ति म तपाईलाई संसदमा निम्तो दिन चाहन्छु। चुनौती दिन चाहन्छु। होइन भने तपाई बाहिरको सभा सम्मेलनमा उभिएर, प्रश्न नगर्ने ठाउँमा हुक्के, चिलिमे, बैठके, चौतारे राखेर तपाईले माथिबाट खोक्ने, तलको ताली बजाउने, अनि माननीय सांसदहरुले संसदमा आएर बालकविता सुनाएर बस्ने होइन।

हामी तपाईसँग बहस गर्न तयार छौं। तपाईले प्रस्तुत गरेको तथ्यमा टेकेर। ल आउँनुस्। तपाईको एउटा एउटा मन्त्रालयमा बहस गरौं। कहाँ तीन वर्षमा चमत्कार भएको छ? पानीमा, सडकमा बहस गरौं। पुलमा, राष्ट्रिय गौरवका आयोजनामा एक एक बहस गरौं। तथ्य र तथ्यांकमा टेकेर बहस गरौं प्रधानमन्त्री ज्यू। नेपालको इतिहासमा सबैभन्दा बढी पाउनुभएकोमा काम कहाँ कसरी भयो भन्ने विषयमा बहस गर्न एउटा सांसद निम्तो र चुनौती दिन चाहन्छ। संसदलाई छलेर भागेर होइन यहाँभित्र आएर छलफल बहस गरौं।

यदि शिलान्यास र उद्घाटनको रहर हो भने उद्घाटनपछि निर्माण सुरु पुलहरु सकिएपछाडि बालुवाटारको परिसरभित्र थुप्रै जग्गा खाली छ प्रत्येक एउटा नयाँ भवनको शिलान्यास गर्नुहोला बनेको कोठाको पनि उद्घाटन गर्नुहोला धन्यवाद।

(प्रतिनिधिसभा सदस्य गगन थापाले २०७७ चैत २६ गते प्रतिनिधिसभामा व्यक्त विचारको सम्पादित अंश)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell