PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

ओलीको बचाउमा लालबाबु पण्डित संसदमा आक्रामक : 'प्रधानमन्त्रीको विरोध गर्ने कुण्ठाग्रस्त, सभामुखमाथि प्रश्न उठ्यो'



पहिलोपोस्ट

ओलीको बचाउमा लालबाबु पण्डित संसदमा आक्रामक : 'प्रधानमन्त्रीको विरोध गर्ने कुण्ठाग्रस्त, सभामुखमाथि प्रश्न उठ्यो'

काठमाडौं :  नेकपा एमालेका सांसद लालबाबु पण्डितले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाएका छन्।

सरकारले प्रतिनिधिसभालाई बिजनेश दिन सकेन भनेर मात्रै आरोप लगाउन नमिल्ने पण्डितको तर्क छ। बिहीवारको बैठकमा बोल्दै उनले सांसदहरुले सरकारले संसदलाई विजनेश नदिएको भन्दै गलत प्रचार गरेको आरोप लगाए।

'नागरिकता सम्बन्धी विधेयक अड्किरहेको छ। निजामती सेवासम्बन्धी ऐन यहीँ संसदमा अड्किरहेको छ। कतिपय गैरसरकारी विधेयक पनि छन्। कतियले प्रचार गर्नुहुन्छ सरकारले काम दिएन भनेर,' उनले भने।

सरकारले ल्याएका विधेयकहरु संसदीय समितिमा अड्काइएको आरोप लगाउँदै पण्डितले सरकारले ल्याएका विधेयक अगाडि बढाउनुपर्ने बताए। भने, 'सरकारले ल्याएका विधेयक काम होइन? सन्धी सम्झौता अनुमोदन काम होइन? यदि काम होइन भने के हो यो? यदि जानकारीको अभाव हो भने विधेयक शाखाबाट जानकारी लिन सकिन्छ।'

प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गर्दै पण्डितले प्रधानमन्त्री र अहिलेको मन्त्रिपरिषद्को विरोध गर्नेहरु कुण्ठाग्रस्त भएको आरोप लगाए।

राजनीतिक प्रणालीमाथि विश्वास नभएकाहरुले सरकारको विरोध गरेको उनको दाबी छ। 'संविधान पनि समाप्त गर्न चाहनेहरु। संसदको काम छैन भन्ने चाहनेहरु। सरकारको मात्रै बिरोध गर्न चाहनेहरु। यो सरकारलाई हटाए आफू जान सकिन्छ भन्ने कुण्ठा राख्नेहरुलाई के भन्ने?' पण्डितले प्रश्न गरे।

संसदले विजनेश नपाउनुमा सभामुख सापकोटा पनि दोषी भएको उनको आरोप छ। सभामुखको विशेष र निष्पक्ष भूमिकाको आवश्यकता भएको पण्डितले बताए।

'सरकारले काम नदिएको भन्ने। यसमा सभामुखको विशेष भूमिकाको आवश्यकता छ। संसदले काम गर्न सकेन भने सभामुखमाथि पनि प्रश्न उठ्छ। सरकारमाथि मात्रै प्रश्न उठ्दैन,' उनले भने,' वाधा अवरोधहरु मैले त थाहा पाएको छैन। यदि त्यसो हो भने संसदलाई जानकारी हुनुपर्छ। एकतर्फी रुपमा संसदले काम गर्न सकिएन भने पूर्वाग्रह बाहेक केहीँ हुँदैन। यसको अगुवाइ सभामुखले गर्नुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell