PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

प्रदेश २ मा फेरि बढ्यो कोरोना संक्रमित थपिने क्रम, २४ घण्टामा १५ जनामा संक्रमण पुष्टि



पहिलोपोस्ट

प्रदेश २ मा फेरि बढ्यो कोरोना संक्रमित थपिने क्रम, २४ घण्टामा १५ जनामा संक्रमण पुष्टि

वीरगंज : प्रदेश २ मा पुनः कोरोना संक्रमित थपिन थालेका छन्। दुई/तीन दिनमा १० जना भन्दा कम कोरोना संक्रमित देखिने गरेकोमा पछिल्लो २४ घण्टामा प्रदेश २ मा १५ जना संक्रमित थपिएका छन्।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक कमलेश प्रसाद यादवका अनुसार पर्सा, बारा र मकवानपुरका १५ जनामा संक्रम पुष्टि भएको छ। जारी विज्ञप्तिमा ८ जना महिला र ७ जना पुरुषमा कोरोना पुष्टि भएको उल्लेख छ।

बाराको महागढिमाई, जितपुरसिमरा उपमहानगरपालिका, करैयामाई गाउँपालिका, पर्साको वीरगंज र मकवानपुरका एक जनामा पनि कोरोना पुष्टि भएको छ। वीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

अब प्रदेश २ मा ३ हजार २८ जना महिला र १४ हजार २ सय ५९ पुरुष गरी कुल १७ हजार २ सय ८७ जनामा हालसम्म कोरोना पुष्टि भइसकेको छ। भारतको दक्षिणी राज्यहरुमा कोरोना महामारी तीव्र गतिमा पुनः फैलिरहेको बेला खुल्ला सिमानाको कारण भारतबाट नेपाल फर्किने वा वीरगंज कोरिडोरका उद्योगमा काम गर्ने कर्मचारी वा भारतीय बजारमा किनमेल गर्न जानेहरुमा संक्रमण बढ्ने चिकित्सकहरुको अनुमान छ।

यस्तोमा स्थानीय सरकारले उच्च सतर्कता अपनाउन र व्यवस्थापन मिलाउनु पर्नेमा चिकित्सकहरुको जोड छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell