PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

ठप्प हुलाकी सडकको निर्माण गर्न निर्देशन, वनमन्त्रीपछि प्रधानमन्त्रीलाई भेट्दै ठोरीवासी



राधेश्याम पटेल

ठप्प हुलाकी सडकको निर्माण गर्न निर्देशन, वनमन्त्रीपछि प्रधानमन्त्रीलाई भेट्दै ठोरीवासी

वीरगंज : ठोरी नागरिक समाजको समन्वयमा काठमाडौं गएको हुलाकी सडक निर्माण संघर्ष समिति र सर्वदलीय डेलिगेसनले वन तथा वातावरण मन्त्री प्रेम आलेसँग भेट गरेको छ। बिहीवार भएको भेटमा समितिका सदस्यहरुले ठोरीमा बाँकी रहेको हुलाकी सडक निर्माण कार्य तत्काल सुचारु गर्न अनुरोध गरेको छ।

पर्सा ४ का प्रतिनिधि सभा सदस्य लक्ष्मणलाल कर्णको नेतृत्वमा गएको ठोरीका आम नागरिकको टोलीले बनमन्त्री आलेसँग भेटी हुलाकी सडकको निर्माण अवरोधको समस्या राखेपछि छलफलकै क्रममा मन्त्री आलेले चितवन राष्ट्रिय निकुन्जका वार्डेन अणनाथ बराललाई फोनमार्फत हुलाकी सडकको निर्माण प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका थिए।

मन्त्री आलेको प्रश्नको जवाफ दिँदै वार्डेन बरालले अब तुरुन्त हुलाकी सडकको निर्माण प्रक्रिया अघि बढाउने प्रतिक्रिया दिएको समितिका सदस्यहरुले बताए। हुलाकी सडक निर्माणमा अवरोधका रुपमा देखिएको चितवन राष्ट्रिय निकुञ्जको विषयमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागमा समेत डेलिगेसनसहित छलफल गरेको थियो। छलफलका क्रममा विभागका निर्देशकले ठोरीमा अवरुद्ध भएको हुलाकी सडकको पुनः तत्काल भ्रमण गरी निर्माण कार्य अन्तर्गत निजी जग्गा रहेको ठाउँ भए तत्काल निर्माण कार्य अघि बढाउने प्रतिबद्धता समेत ब्यक्त गरेका छन्। ठोरीको डेलिगेसन टोलीले शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने कार्यक्रम रहेको जनाएको छ।

डेलिगेसन टोलीमा संघर्ष समितिका अध्यक्ष जगेन्द्र पौडेल, लालबहादुर श्रेष्ठ, सन्तोष श्रेष्ठ, तिलकबहादुर श्रेष्ठ, अमृत सापकोटा, गणेश श्रेष्ठ, प्रकाश खनाल, गणेश बोहोरा, मानबहादुर श्रेष्ठ, खगेन्द्र श्रेष्ठ, जरी लामा, हेम चापागाईं, रामकृष्ण पन्त, पदम श्रेष्ठ, मुन्ना श्रेष्ठ, चिनबहादुर श्रेष्ठ, हेमराज बमजन लगायतको टोली रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell