PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

'श्री'को मुख्य भूमिकामा सन्दीप क्षेत्री, 'अरुको समय नमिल्दा मलाई जुर्‍यो'



लक्ष्मी बलायर

'श्री'को मुख्य भूमिकामा सन्दीप क्षेत्री, 'अरुको समय नमिल्दा मलाई जुर्‍यो'

काठमाडौं : हास्य कलाकारको छवि बनाएका टेलिभिजन प्रस्तोता सन्दीप क्षेत्री पहिलोपटक मुख्य भूमिकामा देखिने भएका छन्। उनी श्री फिल्ममा मुख्य भूमिकामा देखिन लागेका हुन्। एभरेष्ट सुर्य बोहराको निर्देशनमा बन्न लागेको फिल्मको कन्टेन्टले आफू लोभिएको सन्दीप बताउँछन्।

सन्दिप भन्छन् 'अरुको समय नमिलेकाले राम्रो स्क्रिप्टको फिल्म मलाई जुर्‍यो। कथाको वान लाइन सुन्ने बित्तिकै मैले गर्छु भने। फिल्मको कन्टेन्ट निकै मन पर्‍यो। एउटा राम्रो नियतका साथ फिल्म बनाएको कारणले गर्दा म श्रीसँग आवद्ध भएको हुँ।'

यद्यपि सिरियस भूमिका उनले अभिनय गर्न सक्छन् भन्ने पत्यार लागेनछ फिल्म टिमलाई। 'मैले आफ्नो कम्फर्ट जोनभन्दा बाहिर निस्किएर अभिनय गरेको छु। त्यो मेरो लागि सबैभन्दा ठूलो चुनौती थियो। मलाई गम्भीर खालको भूमिकामा सूर्य दाईबाहेक आजसम्म कसैले विश्वास गरेको थिएन,' उनी सुनाउँछन्।

'श्री' शुक्रवारबाट देशैभरका हल र ‌ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछ। फिल्म रिलिजबारे उनको भनाई छ, 'मलाई कति पनि डर लागेको छैन। किनभने यो फिल्म चलोस्, हिट होस् र धेरै पैसा कमाएर व्यवसायिक रुपले सफल होस् भनेर बनाएको फिल्म होइन। यो फिल्म एउटा सिर्जनात्मक काम गरौँ भन्ने उद्देश्यले राहतको रुपमा बनाएको फिल्म हो।'

मान्छे व्यवसायिक रुपमा जति नै सफल भए पनि मानिसलाई मायाप्रेम, सद्भाव र अपन्तत्व चाहिने कुरा फिल्ममा समेटिएको सन्दिपले बताए। फिल्ममा मानिसको वास्तविक यर्थात के हो? लकडाउनको बेला आम मानिसको जिन्दगी भनेको के रहेछ भन्ने अनुभव गरिएको कथावस्तु समेत समेटिएको छ। 'मैले जति पनि फिल्म गरेँ त्यसबाट सन्तुष्ट छु। तर, यसपटक ठोकुवाका साथ भन्छु कि ‘श्री’ हामीले बडा राम्रोसँग बनाएका छौं। र, यो मेरो करिअरको उत्कृष्ट फिल्म हो।'

यो फिल्म पारिश्रमिकको लागि नगरेको सन्दिपको तर्क छ। भन्छन्, 'कोरोना र लकडाउनको बेला सीमित ठाउँमा ७२ घण्टामा निर्माण गरिएको फिल्म हो। निकै चुनौतीको बेला फिल्मको काम गरिएको थियो। मैले पैसा कमाउने अन्य थुप्रै माहोल र माध्यमहरु होलान्। तर यो फिल्म मलगायत अन्य कलाकारहरुले पैसाको लागि गरेका होइनन्। यो नितान्त राहतको लागि बनेको फिल्म हो।'

सबिता गुरुङले निर्माण गरेको फिल्ममा सन्दिपका साथै वर्षा शिवाकोटी, बुद्धि तामाङ, बसुन्धरा भुषाल, राजाराम पौडेल, रबिन्द्र झा  र सबिता गुरुङलगायतको भूमिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell