PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ओलीले आफ्नो भक्तहरुलाई मात्रै पार्टीमा प्रश्रय दिएको माधवको आरोप, 'ओलीको दास हुन नसक्नेहरू सङ्गठित हुँदै'



अनन्तराज न्यौपाने

ओलीले आफ्नो भक्तहरुलाई मात्रै पार्टीमा प्रश्रय दिएको माधवको आरोप, 'ओलीको दास हुन नसक्नेहरू सङ्गठित हुँदै'

विराटनगर : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध गर्ने हो भने पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २०७५ जेठ २ को अवस्थामा फर्कनु पर्ने बताएका छन्।

विराटनगरमा शुक्रबार एमालेको समानान्तर मोरङ जिल्ला समिति गठन गर्न आइपुगेका नेता नेपालले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा पुर्‍याउन आग्रह गरेका हुन्।

‘पार्टीमा केपी ओली मात्र अध्यक्ष चुनिनु भएको होइन’, नेपालले भने, ‘अष्टलक्ष्मी शाक्य, वामेदव गौतम, भीम रावल र युवराज ज्ञवालीलगायतका धेरै नेताहरू पनि निर्वाचित हुनुभएको छ। उहाँहरूलाई यथावत् स्थान दिइनुपर्छ। महाधिवेशनले चुनेका नेताहरूलाई अनाहकमा निकालेर पार्टी एकताबद्ध हुन सक्तैन, विवादको समाधान हुँदैन।’

उनले थपे, ‘केपी ओलीको पद चाहिँ कायम रहने अरू निर्वाचित पदाधिकारीको पद चट् हुने। यस्तो पनि गर्न पाइन्छ?’

उनले अध्यक्ष ओलीले आफ्ना केही भक्त र भजनमण्डलीलाई मात्र पार्टीमा प्रश्रय दिएको उल्लेख गर्दै ओलीको दास हुन नसक्नेहरू सङ्गठित भइरहेको जानकारी दिए।

सबैतिर समानान्तर कमिटीको गठन हुँदैछ, पार्टी कहिले फोड्नु हुन्छ भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘हामी फोड्न होइन, जोड्न लागिरहेका छौँ । ओलीले पाखा लगाएका, पन्छाएका र काम नदिएका नैतिकवान् साथीहरूलाई सङ्गठित बनाइरहेका छौँ। हामी आफैँ शक्ति हौँ। म माधव नेपाल पनि एउटा शक्ति हुँ।’

नेता नेपालले प्रधानमन्त्री ओली अत्यन्त असहिष्णु स्वभावका नेता भएको टिप्पणी गर्दै आफ्नो भजनमण्डलीबाहेक अरूलाई सहन नसक्ने प्रवृत्तिबाट ओली मुक्त हुन नसकेको आरोप लगाए।

उनले ओलीका अवैधानिक र असंवैधानिक कदमले पार्टीको बेहाल भएको र साङ्गठनिक गतिविधि अस्तव्यस्त भएको चर्चा गरे।

‘हामी पुष्पलालको त्यही विचारलाई स्थापित गर्न चाहन्छौँ, पार्टीमा व्यक्ति होइन नीति र विचार प्रधान हुन्छ’, नेपालको कथन थियो, ‘व्यक्ति त आउँछ–जान्छ । त्यही नीति र विचारका आधारमा हामी देशभरिका नेता र कार्यकर्तामा नयाँ जोश, उमङ्ग र उत्साह थपिरहेका छौँ।’

उनले यसअघि केशरजङ्ग रायमाझीले कम्युनिस्ट पार्टीलाई दरबारमा लगेर बुझाएको जस्तो ओलीले पनि दलाल पूँजीवाद र कुनै अवाञ्छित शक्तिलाई बुझाउन लागेको जिकिर गरे।

नेता नेपालले ओलीले पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई आघात पुर्‍याएर एक्लिँदै गएको दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell