PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

निर्णायक कदमका लागि जुट्दै तीन दल, के आजै होला नयाँ सरकार गठनको लागि 'ब्रेक थ्रु' ?



प्रकाश भण्डारी

निर्णायक कदमका लागि जुट्दै तीन दल, के आजै होला नयाँ सरकार गठनको लागि 'ब्रेक थ्रु' ?

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा उत्रिएका तीन दल फेरी जुट्दै छन्। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै सर्वदलीय बैठक गरेर ओली विरुद्ध उत्रिने निर्णय गरेका दलहरुमध्ये नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)  जुटन लागेका हुन्। त्यसका लागि कांग्रेस सभापति शेर बहादुर देउवाले आफ्नो निवास बुढानिलकण्ठमा माओवादी र जसपालाई निम्ता गरेका छन्। माओवादी केन्द्रका नेताहरुका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव ल्याउने विषयमा बैठकमा छलफल हुनेछ।

'निर्णायक बैठक'

माओवादी केन्द्रले आजको बैठकलाई निर्णायक बैठक भएको भन्दै नयाँ सरकार बनाउने विषयमा सकारात्मक पहल भएको बताएको छ। संसद पुनर्स्थापनापछि नयाँ सरकारको नेतृत्व गर्नुपर्ने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक-पटक कांग्रेस सभापति देउवासँग संवाद गरेका थिए। सुरुवाती चरणमा ओलीविरुद्धको गठबन्धन गर्न देउवा अनइच्छुक देखिए पनि हाल भने उनी आफ्नै नेतृत्वको सरकार बनाउन अग्रसर भएका छन्।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश साहले बुढानिलकण्ठमा हुने तीन दलको बैठक निर्णायक भएको बताए। प्रधानमन्त्री ओलीविरुद्धको गठबन्धनका लागि भएको पहल सकारात्मक दिशामा अघि बढेको उनको भनाई छ।

'अहिले पनि नयाँ सरकार बन्ने सम्भावना ५०/ ५० प्रतिशत नै छ। आजको बैठकले धेरै कुरा टुंग्याउने छ। अहिले भएको पहल सकारात्मक हुन्। सायद आज महत्वपूर्ण हुन्छ। आजको बैठक निर्णायक हो,' उनले भने। बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठ सहभागी हुँदैछन्।

जसपालाई मनाउने प्रयास

नयाँ सरकार गठनका विषयमा जसपाका नेताहरुको मत विभाजित छ। डा. बावुराम भट्टराई र उपेन्द्र यादव लगायतका नेताहरु ओलीका विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउनुपर्ने अडानमा रहेपनि महन्थ ठाकुर र राजेन्द्र महतो लगाएतका नेता भने ओली इतरको गठबन्धनका लागि तयार भएका छैनन्।

ओलीको विषयलाई लिएर जसपामा देखिएको किचलोका कारण पनि लामो समय देखि जसपा अनिर्णित बन्दै आएको छ। ठाकुर-महतो समूहले ओली प्रष्ट भएकाले उनलाई साथ दिनुपर्ने तर्क गरिरहँदा सडकमा एक साथ प्रतिगमन विरुद्ध संघर्ष गरेका दलसँग मिल्नुपर्ने भट्टराई र यादवले बताइरहेका छन्।

आजको बैठकमा नयाँ गठबन्धनका लागि कांग्रेस र माओवादीले जसपालाई मनाउने प्रयास गर्नेछन्। जसपा गठबन्धनका लागि सकारात्मक भए नेपाली कांग्रेसको अगुवाइमा अविश्वासको प्रस्ताव आउने माओवादी केन्द्रका नेताहरुको दाबी छ।

'अविश्वासको प्रस्ताव र नयाँ गठबन्धनको काम एकै साथ भइरहेको छ। जसपा सकारात्मक हुने बितिकै नयाँ सरकारको ढोका खुल्छ,' माओवादी केन्द्रका एक नेताले भने।

कसरी भए देउवा यु टर्न?

ओलीले प्रतिनिधिसभा विघटन गरेपछि देउवाले अदालतलाई देखाएर ओलीको विरोध गर्न मानेन्। अदालतको फैसलापछि मात्रै उनले ओलीको कदमलाई असंवैधानिक भनेका थिए। यद्यपी उनको दलले ओलीको कदम विरुद्ध सडकमा संघर्ष गर्ने निर्णय गरेको थियो।

सभापति देउवा नै ओलीको विरुद्धमा नदेखिएपछि कांग्रेसको आन्दोलन फितलो देखिएको थियो। ओलीको कदमलाई अदालतले असंवैधानिक ठहर गरेपछि पनि देउवाले ओली विरुद्ध गठबन्धन गर्न इच्छा देखाएका थिएनन्। तर गत शुक्रवार बसेको कांग्रेसको केन्द्रीय कमिटी बैठकले सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो। यो सँगै नेपाली कांग्रेसको निर्णयलाई माओवादीले स्वागत गरेको छ।

माओवादीले बलियो गठबन्धन नबनेको भन्दै सकारलाई दिएको समर्थन फिर्ता लिएको छैन्। प्रचण्ड र जसपाका नेताहरुसँग गठबन्धन गर्न विश्वस्त नदेखिएका देउवा पटक पटकको प्रचण्डसँगको संवादपछि भने केही सकारात्मक देखिएको बताइएको छ। अविश्वासको प्रस्ताव ल्याउन देउवाले जसपाको समर्थन खोजेको माओवादी केन्द्रका नेताको भनाई छ। जसपाको समर्थन बिना नयाँ सरकार बन्न कठिन हुने भएकाले जसपा तयार हुनुपर्ने अडानमा देउवा छन्।

के गर्छ जसपा?

नागरिक समाजले प्रज्ञा प्रतिष्ठानमा गरेको अन्तरक्रियामा जसपाका अध्यक्ष महन्थ ठाकुरले आफूले ओलीलाई साथ नदिएको बताएका थिए। उनले ओली सरकारको विरोध मात्रै नगर्ने आफ्नो रणनीति भएको दाबी गरेका थिए। जसले आफ्ना माग तत्काल पुरा गर्छ उसैसँग सहकार्य गर्ने ठाकुराले बताएका थिए।

सरकारसँग वार्ता टोली नै बनाएर आफ्ना मुद्दा सम्बोधनका लागि वार्ता गरेको जसपा फेरी पनि पर्ख र हेरकै अवस्थामा छ। जसपाका नेताहरुले खुलेर सरकारको समर्थन गरेका छैनन् भने गठबन्धनका लागि माओवादी र कांग्रेस बाधक भएको उनीहरुले आरोप लगाउँदै आएका छन्।

कांग्रेस र माओवादी नयाँ सरकार गठनका लागि तयार भएसँगै अब जसपा दबावमा परेको छ। उसका लागि ओलीतिर लाग्ने की ओलीसँग भन्ने निर्णय गर्नुपर्ने बाध्यता छ। आजको बैठकमा देउवाले जसपाको मुड बुझ्नेछन् र त्यही आधारमा नयाँ सरकारको नेतृत्वका पहल गर्ने उनको तयारी छ। तर ओली सरकारलाई साथ दिएमा जसपा विभाजित हुनसक्ने भएकाले जसपाको ठाकुर-महतो समूहलाई सरकारमा गइहाल्न कठिन भएको बताइएको छ।

जसपाका नेता लक्ष्मणलाल कर्णले अब जसपा पनि निर्णायक चरणमा प्रवेश गरेको बताएका छन्। उनले आजको वार्ता पनि अर्थपूर्ण हुने बताए। 'अब सधैं निर्णय नगरेर बस्ने अवस्था पनि नरहला। वार्ता त सधै भइरहेकै छन्। आजको पनि महत्वपूर्ण छन्,' उनले भने।

नेपाली कांग्रेसका पहलमा बुढानिलकण्ठमा बस्ने बैठकले एकातिर जसपालाई नयाँ गठबन्धनका लागि फकाउने पहल गर्ने छ भने अर्कोतिर अविश्वासको प्रस्ताव कसरी लैजाने भन्नेबारेमा टुंग्यो लगाउने माओवादी केन्द्रका नेताहरुको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell