PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

न्यायाधीश नियुक्तिमा सर्वोच्‍च बार एशोसियसनले उठायो प्रश्न, 'प्रधानन्यायाधीशमा सुनिश्चित गर्नेगरी नियुक्त गर्ने प्रचलन डरलाग्दो'



पहिलोपोस्ट

न्यायाधीश नियुक्तिमा सर्वोच्‍च बार एशोसियसनले उठायो प्रश्न, 'प्रधानन्यायाधीशमा सुनिश्चित गर्नेगरी नियुक्त गर्ने प्रचलन डरलाग्दो'

काठमाडौं : सर्वोच्च अदालत बार एशोसियसनले न्यायाधीश नियुक्ति प्रक्रियामा प्रश्न उठाएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको न्याय परिषद्ले हालै सर्वोच्चमा गरेको न्यायाधीश सिफारिसमा चौतर्फी प्रश्न उठिरहेका बेला सर्वोच्च बारले शुक्रवार पत्रकार सम्मेलन गरेर असन्तुष्टि जनाएको हो।

‘न्याय परिषदको सचिव र सर्वोच्चको रजिष्टार पदमा नियुक्ति गरेर ती पदलाई भर्‍याङ बनाएर सर्वोच्च अदालतमा लैजान थालिएको छ। योग्यता पुगेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशलाई पन्छाएर योग्यता नपुगेकालाई लग्न खोज्ने परिपाटी गलत छ। यसमा हाम्रो ध्यानाकर्षण भएको छ,’ सर्वोच्च बारमा अध्यक्ष पूर्णमान शाक्यले पत्रकार सम्मेलनमा भने।

शाक्यले नियुक्ति प्रक्रियामा असहमति जनाउँदै संसदीय सुनुवाइ समितिमा ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गरिएको बताए।

‘योग्यताका अनुसार नियुक्ति हुनुपर्‍यो। कसैको भनसुनबाट होइन। हामीले कुनै व्यक्तिको विरोध गरेका होइनौं। हामीले योग्यताको, वरियताको कुरा गरेका हौं,’ उनले भने, ‘अहिले सिनियर जजहरु छुटेका छन्। नियुक्ति गर्दा नै जन्म मिति हेरेर गर्ने चलन भयो। प्रधानन्यायाधीशमा सुनिश्चित गर्नेगरी नियुक्त गर्ने प्रचलन डरलाग्दो रुपमा आएको छ।’

शाक्यले थपे, ‘आफ्नो पार्टीको, खेमाको, आफ्नो कुरा सुन्ने हिसाबले गरिनु हुँदैन। वरियताक्रम र निष्पक्ष ढंगले गरेको महसुस कानुन व्यवसायीले पाएका छैनन्। यो विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हामीले प्रष्ट रुपमा भन्नुपर्ने अवस्था आएको छ। राजनीति र गुटबन्दी गर्नुभएन। त्यो अवस्था देखिएकाले हामी चिन्तित छौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell