PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

प्रदेशस्तरीय यू-१६ क्रिकेट : दाङ र रुपन्देही फाइनलमा



पहिलोपोस्ट

प्रदेशस्तरीय यू-१६ क्रिकेट : दाङ र रुपन्देही फाइनलमा

बुटवल : दाङ र रुपन्देही भैरहवामा जारी लुम्बिनी प्रदेशस्तरीय टी-२० अन्डर-१६ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। शुक्रवार सेमिफाइनलमा दाङले रोल्पालाई ८३ रन र रुपन्देहीले पाल्पालाई ९९ रनले पराजित गर्दै उपाधि नजिक पुगेका हुन्।

सिद्धार्थ रंगशालामा भएको पहिलो सेमिफाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको दाङले ८ विकेटको क्षतिमा १३२ रनको योगफल बनायो। उसका लागि आशिष ओलीले ४०, मनोज पुनमगरले ३६ र केरमान घर्तीमगरले १३ रन जोडे।

रोल्पाका अजय डाँगी, प्रवेश गिरी र किसन भारतीले समान २/२ विकेट लिए।

जवाफी ब्याटिङमा आएको रोल्पा १० ओभरमा सबै विकेट गुमाउँदै ४९ रनमै सीमित भयो। उसका लागि प्रवेश गिरीले सर्वाधिक २४ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

रोल्पालाई सस्तैमा रोक्न दाङका आयुष ओली र सुजल ओलीले समान ३/३ तथा आशिष ओलीले २ र केरमान घर्तीमगरले १ विकेट लिए। आशिष ओली म्यान अफ द म्याच भए।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले ४ विकेटको क्षतिमा १९० रन बनायो। उसका लागि अमर मिश्राले ५६ बलमा ६ चौका र एक छक्काको मद्दतमा ६७, प्रकाश गिरीले २२ बलमा ४ चौका र ६ छक्काको मद्दतमा ५७ रन बनाए। यस्तै, विशाल भुसालले ३४ रन जोडे।

पाल्पाका नरेश सूर्यवंशी, सुदीप जिसी र सौगात गौतमले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङ गरेको पाल्पा १७ ओभरमा सबै विकेट गुमाउँदै ९१ रनमै समेटियो। उसका लागि रुपेश बस्यालले २६ र सुदीप जिसीले १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

उसलाई सस्तैमा रोक्न रुपन्देहीका सेजाद आलम र सुरज खड्काले समान ३/३ तथा सन्तोष यादवले २ विकेट लिए। अमर मिश्रा म्यान अफ द म्याच भए। भोलि उपाधिका लागि दाङ र रुपन्देही प्रतिस्पर्धा गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell